१- सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबीच विवाद भएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अन्तत: संसदीय समितिमा पुगेको छ । नेकपा एमालेले यस विधेयकलाई फास्ट ट्रयाकमा पास गर्ने योजना बनाएको भएपनि सत्ताघटक नेपाली काँग्रेस तयार नभएपछि दफाबार छलफलका लागि समितिमा पठाइएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यस विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे र यो प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भयो । यो सँगै भूमि विधेयक संसदीय समितिमा पुगेको छ । अब यो विधेयक प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल हुने छ ।
२- बाजुराको हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बाजुराको क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् । घाईतेको उद्धार स्थानीय सडकबाट असम्भब भएपछि हेलिकप्टर मार्फत उद्धार गरेर कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।
३- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । सभापति देउवाले शुक्रबार विहान ९ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा सरकारमा सामेल रहेका मन्त्रीहरुपनि सहभागी हुने बताइएको छ । बैठकमा समसामयिक राजनीति र सरकारका कामको विषयमा छलफल हुने एजेण्डा रहेको छ ।
४- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले त्रिभुवन विश्वविद्यालय किन सधै बन्द हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले त्रिभुवन विश्वविद्यालय किन सधै बन्द हुन्छ भन्दै सरकारले किन यसलाई नियमित संचालन गर्न सक्दैन भन्दै प्रश्न उठाएका हुन् ।
५- नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण बहादुर श्रेष्ठले विपद घोषणा गरेर मात्र मधेशका समस्या समाधान नहुने बताएका छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै खानेपानीमा मन्त्रीहरुले राजनीति गरिरहेको भन्दै विपद घोषणा गरेपनि सरकारले आवश्यक काम नगरेको आरोप लगाएका छन् । सांसद श्रेष्ठले नेपाली सेनाले ८ वटा दमकलले वितरण गरिरहेको खानेपानी मन्त्रीको पर्सा जिल्लामा मात्र गरिरहेको आरोप लगाउदै बाँकी ७ जिल्लाका जनताले खानेपानी नपाएको बताए । उनले सरकारले गर्नैपर्ने न्युनतम काम समेत नगर्दा अहिले मधेशका जनताले सास्ती बेहोर्नुपरिरहेको भन्दै तत्काल मधेशका सबै जिल्लामा खानेपानीको व्यवस्था गर्न माग गरेका छन् ।
६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद डा. तोसिमा कार्की र राप्रपाका सांसद दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
७- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले प्रवेशमा लगाइएको प्रतिबन्ध मौलिक हक विपरित भएकोले प्रथम दृष्टिमै बदर योग्य भएको टिप्पणी गरेका छन् । गुरुङले एमालेको निर्णय संबिधानको धारा १७ विपरित भएको भन्दै पुर्वराष्ट्रपतिलाई पनि नेपालको सँबिधानले नागरिकको रुपमा चिन्ने बताएका छन् ।
८- भक्तपुरको सिन्टीटारमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । मध्यपुर थिमि नगरपालिका–९ स्थित सिन्टीटारमा घरको भुइँ तलामा डेरा गरी बस्दै आएका सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल मृत्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरु दिदीबहिनी भएको बताइएको छ । उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएरको अवस्थामा फेला परेका छन् । उनीहरु दुई साताअघिमात्र डेरामा बस्न आएको घरधनीले जानकारी दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र भारतको मुम्बईमा रहेका अभिभावकलाई खबर गरेको जनाएको छ ।
९- नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
१०- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा २४ सयले घटेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३५० मा कारोबार भएको थियो ।
११- प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन् । बिहीबार सामजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २ खर्ब ७७ अर्ब ३ करोड २ लाखको निर्यात गर्न सफल भएको उल्लेख गर्दै यो निर्यात इतिहासकै उच्च भएको बताएका छन् । उनले भनेका छन्- यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ ।
१२- अभिनेता अनमोल केसी र जसिता गुरुङको फिल्म ‘जेरी अन टप’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलूक पोस्टर सार्बजनिक गरिएको छ । विहिबार फिल्मका निर्माताले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म असोज ३१ गते रिलिज हुने जानकारी दिइएको छ । सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा छायांकन गरिएको फिल्मको कथा पदयात्राको क्रममा हुने प्रेमको बारेमा रहेको अनुमान पोस्टरबाट गर्न सकिन्छ ।
१३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की जिल्लाको माछापुच्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्छ भन्नेमा आफु रहेको बताएका छन् । आज धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै प्रचण्डलाई भेट गरी पहल गरिदिन अनुरोध गरे ।
१४- स्पेन जारी महिला युरो कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो । स्पेनको जितमा खेलको ११३औं मिनेटमा आइटाना बोनमाटी गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशबाट कुनासी गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अब स्पेनले फाइनलमा इङल्याण्डको सामना गर्ने छ । इङल्याण्डले पहिलो सेमिफाइनलमा इटालीलाई पराजित गर्दै फाइनलमा पुगेको छ । अब फाइनल खेल जुलाई २७ मा हुने हुने छ ।
१५- भारतले बंगलादेशमा भएको विमान दुर्घटनामा घाइते भएकाहरूको उपचार गर्न एक चिकित्सा टोली पठाएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार, यस चिकित्सा टोलीमा दिल्लीको राम मनोहर लोहिया अस्पताल र सफदरजंग अस्पतालका दुई विशेषज्ञ र एक नर्सिङ सहायक समावेश छन् । बंगलादेश वायुसेनाको एफ-७ बिजीआई प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा अवस्थित माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पस भवनमा खसेको थियो । यस दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन् ।
१६- रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा सम्पर्कविहीन भएको यात्रुवाहक विमानको भग्नावशेष भेटिएको छ । रुसी मिडियाहरुले विमानको भग्नावशेष भेटिएको र यात्रुहरु सबैको मृत्यु भएको छ । एन्टोनोभ एन-२४, अंगारा एयरलाइन्सद्वारा सञ्चालित विमानमा ४३ यात्रु र छ जना चालक दलका सदस्यहरू रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
१७- भारत र बेलायतबीच नयाँ व्यापार सम्झौता भएको छ । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री किरोन स्मार्टरसँग स्वतन्त्र व्यापार सहमति गरेका हुन् । यसले दुई देशबीचको व्यापार अर्बौंले बढाउने बताइएको छ । यो सम्झौताले बेलायती कार, एयरोस्पेस, इलेक्ट्रिकल, मेडिकल उपकरण र ह्विस्कीलाई भारतमा सस्तो बनाउनेछ, जबकि भारतीय कपडा र गहना पनि बेलायतमा सस्तो हुनेछ । यो सम्झौताले अवैध आप्रवासनलाई सम्बोधन गर्न नयाँ भारत-बेलायत योजनाप्रति प्रतिबद्धता पनि व्यक्त गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
१८- थाइल्याण्ड-कम्बोडिया सीमामा जारी सैन्य झडपमा अहिलेसम्म कम्तिमा १२ जनाको मृत्यु भएको छ भने १४ जनाभन्दा बढी घाइते भएका छन् । थाइल्याण्डले झडपमा एक सैन्य कर्मचारी र ११ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । यो घटना एक दिन अघि सीमामा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि भएको हो, त्यसपछि थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो । दुवै देशका सैनिकहरूले बिहीबार बिहानदेखि सीमामा गोली चलाइरहेका छन् । थाइल्याण्डले कम्बोडियाको सैन्य अड्डामा हवाई बमबारी गरेको बताएको छ ।
१९- संयुक्त राष्ट्रसंघको एक शीर्ष अदालतले जलवायु परिवर्तनको बारेमा ऐतिहासिक फैसला सुनाएको छ । नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्याय अदालतले यदि राज्यहरूले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अन्तर्गत विश्वव्यापी तापक्रमलाई पूर्व-औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने दायित्व उल्लङ्घन गरेमा उनीहरु कानुनी रुपमा जिम्मेवार हुने र उनीहरु पूर्ण क्षतिपूर्ति दिन भागीदार हुनसक्ने फैसला गरेको छ । अदालतको यो फैसलाले जलवायु परिवर्तनको मुद्दामा देशहरूलाई एकअर्कालाई मुद्दा हाल्ने बाटो खुला गरेको छ ।
२०- रसुवा नाकास्थित मितेरी पुल बगाएपछि चीनतर्फ अलपत्र परेका २०३ जना नेपाली बुधबार उत्तरी नाका तातोपानीबाट नेपाल फर्किएका छन् । असार २४ गते भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुल बगाएपछि अलपत्र परेका उनीहरुलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्र्याइएको हो । उनीहरुलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा तातोपानीसम्म ल्याइएको थियो । नेपाल सरकारको आग्रहमा उनीहरुलाई तातोपानी नाका हुँदै ल्याइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन् ।
प्रतिक्रिया