काठमाडौँ । भारतमा नक्कली बैंक र विश्वविद्यालयहरू पछि, अब नक्कली दूतावास सञ्चालन गरेको अनौठो घटना बाहिर आएको छ । भारतको उत्तर प्रदेशमा मानिसहरूलाई विभिन्न देशहरूमा यात्रा गर्न भिसा प्रदान गरिरहेको नक्कली दूतावास फेला परेको छ ।
उत्तर प्रदेश एसटीएफले पश्चिम आर्कटिकको नक्कली दूतावास चलाउने गाजियाबादको कविनगरबाट ठगी गर्ने हर्षवर्धन जैनलाई पक्राउ गरेको छ ।
एसटीएफले गाजियाबादमा मुद्दा दर्ता गरेर थप कानुनी कारबाही गरिरहेको बताएको दैनिक जागरणले उल्लेख गरेको छ । उनीबाट ४४ लाख ७० हजार भारु, विभिन्न देशका विदेशी मुद्रा, २० वटा कूटनीतिक सवारी साधनको नम्बर प्लेट, कूटनीतिक नम्बर प्लेट भएका चार वटा सवारी साधन आदि बरामद गरिएको छ ।
यूपी एसटीएफको नोएडा एकाइले गाजियाबादको ४५ केबी कविनगर निवासी जेडी जैनका छोरा हर्षवर्धन जैनलाई भाडाको घरमा पश्चिम आर्कटिकको अवैध दूतावास चलाउँदै पक्राउ गरेको छ ।
उनी आफूलाई पश्चिम आर्कटिक, सेबोर्गा, पोल्याण्ड र लोडोनिया जस्ता देशहरूको काउन्सिल वा राजदूत भन्थे । उनी काल्पनिक देशहरूको दूतावासको प्रमुख भएको दाबी गरेर मानिसहरूलाई ठग्थे । उनले सेबोर्गा देशबाट बनेको कूटनीतिक राहदानी लिएका थिए ।
आफ्नो हैसियत स्थापित गर्न उनी कूटनीतिक नम्बर प्लेट भएका विलासी कारहरूमा यात्रा गर्ने गरेको पाइएको रिपोर्टमा उल्लेख छ । उनले मानिसहरूलाई प्रभाव पार्न प्रधानमन्त्री, राष्ट्रपति र अन्य धेरै प्रतिष्ठित व्यक्तिहरूसँगको आफ्नो तस्बिरहरू पनि प्रयोग गर्ने गरेको पाइएको छ ।
उनको मुख्य काम कम्पनीहरू र निजी व्यक्तिहरूलाई विदेशमा काम गराउने नाममा दलाली गर्नु र शेल कम्पनीहरू मार्फत हवाला र्याकेट चलाउनु रहेको खुलेको छ ।
उनको घरबाट कूटनीतिक नम्बर प्लेट भएका चार लक्जरी कार, स-साना देशका १२ वटा कूटनीतिक राहदानी, परराष्ट्र मन्त्रालयको छाप भएको नक्कली कागजात, दुईवटा नक्कली प्यान कार्ड, विभिन्न देश र कम्पनीहरूको ३४ वटा टिकट,
दुईवटा नक्कली प्रेस कार्ड विभिन्न बैंक खाता र व्यक्तिहरूको फोन नम्बर भएको डायरीलगायत भेटिएको उल्लेख छ ।
प्रतिक्रिया