×

प्रविधिमैत्री रास्वपा महाधिवेशन: विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदानको व्यवस्था

images

१० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमैत्री र ‘स्मार्ट’ बनाउने प्रयास गरिरहेको छ । यसै क्रममा पार्टीले नेपालको राजनीतिक इतिहासमै पहिलो पटक विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूका लागि घरबैठै मोबाइल एपमार्फत मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाएको छ ।

विदेशबाटै चुनिन सक्ने नेतृत्व

रास्वपाको विदेशस्थित नेपाली सम्पर्क विभागबाट महाधिवेशनका लागि कुल १६३ जना प्रतिनिधिहरू चयन भएका छन् । कार्यव्यस्तता वा अन्य प्राविधिक कारणले नेपाल आउन असमर्थ भएका ती प्रतिनिधिहरूलाई मध्यनजर गर्दै पार्टीले मोबाइल एपबाटै भोट हाल्ने डिजिटल प्रणाली विकास गरेको हो । यस व्यवस्थाले भौतिक रूपमा अनुपस्थित भए तापनि प्रवासमा रहेका नेपालीहरूको पार्टी नेतृत्व चयनमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नेछ । महाधिवेशन स्थलमा भौतिक रूपमा उपस्थित भएका प्रतिनिधिहरूका लागि भने राष्ट्रिय स्वतन्त्र पार्टीले विद्युतीय मतदानको व्यवस्था गरेको छ ।

  • मतदान प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउन महाधिवेशन स्थलमा ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) जडान गरिएको छ ।

  • पार्टीका अनुसार यो निर्वाचन प्रक्रिया सम्पन्न हुन करिब ११ घण्टा लाग्ने अनुमान गरिएको छ ।

  • डिजिटल प्रविधिको प्रयोगका कारण मतदान सकिएको छोटो समय अर्थात् डेढ घण्टाभित्रै अन्तिम मतपरिणाम सार्वजनिक गरिने तयारी छ ।

बन्द सत्र सुरु भइसकेको यस महाधिवेशनले रास्वपाको नयाँ केन्द्रीय समिति चयन गर्नुका साथै पार्टीको वैचारिक दिशा पनि तय गर्नेछ । पार्टीले आफ्नो मूल सिद्धान्तका रूपमा ‘संवैधानिक समाजवाद’ को ठाउँमा ‘सामाजिक लोकतन्त्र’ लाई अगाडि सारेको छ । प्रविधिको उच्च प्रयोग र डिजिटल भोटिङको यो अभ्यासलाई नेपाली राजनीतिमा एउटा सकारात्मक र आधुनिक सुरुवातका रूपमा हेरिएको छ ।

बुधबार १० असार २०८३ १२:५९ PM मा प्रकाशित

प्रतिक्रिया