×

काठमाण्डौ महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट : सम्पदा संरक्षणलाई प्राथमिकता

images

काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । महानगरको ११ औं नगर सभामा उप–प्रमुख सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो । 

महानगरले प्रस्तुत गरेको बजेटमा परम्परागत हिटीहरुको संरक्षण, तथा परम्परागत मठ/मन्दिरहरु र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ । 

त्यस्तै सेवा प्रवाहको गुणस्तर वृद्धि गर्ने उद्देश्यले वडाहरूलाई दोब्बर बजेट दिने, महानगर कार्यालय रहेको बागदरबारको भवन प्रबलीकरण गरी पुरानै स्वरूपमा जस्ताको तस्तै राख्ने घोषणा गरिएको छ । 

यसै गरी काठमाण्डौ महानगरभित्र विद्युतीय सार्वजनिक यातायात चलाउने, खाली सरकारी जग्गामा पोखरी निर्माण गरी पानी पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने, डबलीहरू पुनर्स्थापना गर्ने कार्यक्रम पनि प्राथमिकतामा परेका छन् । 

त्यस्तै काठमाण्डौको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्हि (इन्द्रजात्रा) लाई संसारभरि चिनाउने गरी अन्तर्राष्ट्रिकरण गर्ने कार्यक्रम पनि महानगरले घोषणा गरेको छ । सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकास, फोहोरलाई ऊर्जामा परिणत गर्ने, सार्वजनिक बस बिसौनीहरुमा परम्परागत ढाँचाको फल्चा निर्माण गर्ने आदि विभिन्न कार्यक्रमलाई महानगरले प्राथिमकतामा राखेको छ । 

शुक्रबार​ १० असार २०७९ ०५:२० PM मा प्रकाशित

प्रतिक्रिया