×

उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाण

images

गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

उहाँले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि सरकारले चौबिसै घण्टा सेवा दिनेगरी काम अघि बढाइने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, “पोखरा, काठमाडौँ, झापा, चितवन, भैरहवालगायतका पर्यटकीय सहरमा चौबिसै घण्टा होटल रेष्टुरेन्ट सञ्चालन हुने र आवश्यक सेवा दिनेगरी काम गर्ने वातावरण सरकारले मिलाउनेछ ।” 

उहाँले मुलुकको पश्चिम क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउँदै सिद्धबाबामा सुरुङ र दाउन्ने सडकको विस्तारको कामलाई सरकारले प्राथमिकता राखेको बताउनुभयो ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा अन्तःशुल्कको प्रयोग गलत भएको बताउँदै कच्चापदार्थमा यस्तो शुल्क लिन नहुने धारणा राख्नुभयो । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सङ्घीयतामा जाँदा तीन तहका सरकारको सहयोग र समन्वयबाट मुुलुकको विकास हुने अपेक्षा निजी क्षेत्रले गरेको तर निजी क्षेत्रले सोचेजस्तो तीन तहका सरकारबाट समन्वय हुन नसकेको बताउनुभयो । 

उहाँले राज्यले उद्योगीले भोगिरहेका समस्याको समाधान गरी सबै व्यवसायीलाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विद्युतीय समस्या नै लुम्बिनी प्रदेशका उद्योगको मुख्य समस्या भएको बताउनुभयो । उहाँले बुटवल पाल्पा सडकखण्डको जोखिमले पनि उद्योगलाई नोक्सान पु¥याउँदै आएको बताउनुभयो । 

सो कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले बुटवल मोतिपुर औद्योगिक क्षेत्र, नेपालगञ्ज औद्योगिक क्षेत्रको व्यवस्थापन जरुरी तथा गुल्मीको कफी, रोल्पा रुकुम र प्युठानको जडीबुटीको औद्योगिकरणमा राज्यले ध्यान दिनु आवश्यक रहेकामा जोड दिनुभएको थियो । 

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले लुम्बिनी प्रदेश लगानीकर्ताका लागि महत्वपूर्ण क्षेत्र भएको भन्दै उद्योगी व्यवसायीलाई लुम्बिनीमा लगानी गर्न आह्वान पनि गर्नुभयो । 
 

शुक्रबार​ १० असार २०७९ ०४:१३ PM मा प्रकाशित

प्रतिक्रिया