काठमाडौं । आन्दोलनरत चिकित्सक र प्रहरीबिच आज स्वास्थ्य मन्त्रालय अगाडि आमनेसामने भएको छ । आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रिपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालयमा माग पत्र बुझाउन जाने क्रममा प्रहरीले अवरोध गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्कीले बताए ।
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहसरह सेवा दिने निर्णयमा स्वास्थ्यमन्त्रीले समेत हस्ताक्षर गरेकाले ध्यानाकर्षण गराउन खोजेको उनको भनाइ छ । माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच धकेलाधकेल समेत भएको थियो । उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।
चिकित्सक संघले आफ्ना मागहरु पूरा नभए वैशाख १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया