×

एमाले र कांग्रेसको सरकार एउटा संकल्पसाथ बनेको सरकार हो, ढुक्कले मिसन ८४ मा लाग्नुस्- प्रधानमन्त्री ओली

images

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्र विरोधी तत्वहरू एमाले विरुद्ध खनिएको बताएका छन्।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै ओलीले राष्ट्रको पक्षमा एमालेले राखेको अडानका कारण राष्ट्र विरोधी तत्वहरू एमाले विरुद्ध खनिएको बताएका हुन्।

त्यस्ता शक्तिले एमाले विरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेको उनको भनाइ छ। उनले एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको भन्दै सरकार तिर नभइ चुनाव तिर ध्यान दिन सुझाव दिए।

प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुन पनि आग्रह गरे। लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उनले त्यसबाट देश केही समय अलमलमा परेको बताए। अब भ्रममा नभइ स्पष्ट दृष्टिकोणका साथ देश अघि बढ्नु पर्नेमा ओलीले जोड दिए।

ओलीले बैशाख ११ निरंकुशता पराजय र लोकतन्त्रले जितेको दिन भएकाले यस दिनलाई उत्सवको रूपमा मनाउनुपर्ने बताए। निरंकुश व्यवस्थाको कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको उनले बताए। त्यसका विरुद्ध अनेक कठिनाइ झेलेर संघर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको ओलीले सुनाए। अब देश युवाले बनाउनु पर्ने उनको भनाइ छ।

नेकपा एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै सधैं चुनाव हेर्नुपर्ने बताए ।

‘नेकपा एमालेले सरकार बनऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन । नेकपा एमालेले सधैं चुनाव हेरेको हुन्छ । हामीले ७० को चुनाव भन्यौं । र ८४ को चुनाव भनिरहेका छौं । ढुक्कले मिसन ८४ मा लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् । 

सरकार जान्छ, जान्छ भनेर भन्न थालेका छन् । लोकतन्त्रमा सरकार बन्दा लामो समयका लागि ५ वर्षका लागि बन्छ । यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि कसैको वंशको शासन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘५० वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेजस्तो । हामीले भनेको स्थिरता जनताको अभिमतसहितको स्थिरता हो ।’

संसद्को बनोट अनुसार ठिक ढंगले देशलाई अघि बढाउन सकेसम्मका प्रयास नेकपा एमालेले गर्ने उनले बताए । ‘यस कुरामा चिन्ता नगर्नुस् । मिसन ८४ मा ध्यान दिनुस्,’ ओलीले सम्बोधनको क्रममा दोहोर्‍याए ।

बिहीबार ११ बैशाख २०८२ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया