नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन शाहले नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। भ्रमणको दोस्रो दिन सोमबार राजघाटमा माल्यार्पण गरेपछि उहाँले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेख्नुभएको हो।
आगन्तुक पुस्तिकामा प्रधानमन्त्री शाहले महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गर्नुभएको छ। भगवान् बुद्धको जन्मभूमिबाट आएको सन्दर्भ जोड्दै उहाँले गान्धीको विरासतमा त्यही अमर ज्योति देखेको बताउनुभएको छ।
नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएको उल्लेख गर्दै उहाँले गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको छ।
यस पवित्र भूमिमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वसामु सत्यमा यस्तो शक्ति हुन्छ जसको तुलना अन्य कुनै बलसँग हुन सक्दैन भन्ने प्रमाणित गर्यो।
नेपाली जनता र नेपाल सरकारको तर्फबाट म गहिरो श्रद्धासुमन अर्पण गर्दछु। भगवान् बुद्धको जन्मभूमिबाट आएको नाताले म गान्धीजीको विरासतमा त्यही अमर ज्योति देख्दछु : करुणा नै सर्वोच्च शक्ति हो र हामीमध्येका सबैभन्दा निमुखाको निस्वार्थ सेवामा नै साँचो नेतृत्व निहित हुन्छ भन्ने गहन सत्य।
नेपाल र भारत साझा भूगोलले मात्र होइन; आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएका छन्। गान्धीजीको कालजयी भावनाप्रति सम्मान प्रकट गर्दै म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो चिरस्थायी सम्बन्धलाई पोषित गर्ने नेपालको गम्भीर प्रतिबद्धता पुनः व्यक्त गर्दछु।
गान्धीजीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको हाम्रो साझा मार्गलाई निरन्तर आलोकित गरिरहून्।
वालेन्द्र शाह
प्रधानमन्त्री, नेपाल
२३ नोभेम्बर २०२६
प्रतिक्रिया