×

प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी मोदीबीच नयाँदिल्लीमा भेटवार्ता, विभिन्न परियोजनाको उद्घाटन हुँदै

images

नयाँदिल्ली : भारतको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन शाहलाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक रूपमा स्वागत गरेका छन्। नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन्।

स्वागत गर्ने क्रममा प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी बालेनसँग हार्दिक अंकमाल (हग) गरेका थिए। त्यसपछि दुवै नेतालाई राष्ट्रपति भवनको प्रांगणमा गार्ड अफ अनर प्रदान गरिएको थियो। स्मरण रहोस्, प्रधानमन्त्री बालेनले भारत प्रस्थान गर्दा स्वदेशमा गार्ड अफ अनर लिएका थिएनन्।

औपचारिक स्वागत समारोह सम्पन्न भएलगत्तै प्रधानमन्त्री बालेन र मोदीबीच राष्ट्रपति भवन हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता सुरु भएको छ। बिहान ११ बजेपछि जारी यो वार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भइरहेको छ।

भेटवार्तामा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन गर्ने र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायतका महत्त्वपूर्ण पूर्वाधार परियोजनाहरूबारे छलफल गर्ने कार्यसूची रहेको छ।

द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले विभिन्न परियोजनाहरूको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सोही क्रममा दुई देशबीच समझदारीपत्र (एमओयू) र सम्झौतापत्र आदानप्रदान हुनेछ। त्यसलगत्तै दुवै नेताले संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ।

भेटघाटका कार्यक्रमहरू सकेर प्रधानमन्त्री शाह आजै अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

सोमबार ८ मंसिर २०८३ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया