×

मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रियः अध्यक्ष दाहाल

images

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाउनुभएको छ ।

पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई  सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राख्नुभयो । 

अध्यक्ष दाहालले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताउनुभयो । 

उहाँले गत वर्ष संसद् विघटनबाट सुरु भएको प्रतिगमन त्यतिबेलाका लागि परास्त गरिए पनि त्यो अझै नरोकिएको समेत बताउनुभयो । यसका विरुद्धमा आन्दोलनको तयारी गर्न अध्यक्ष प्रचण्डले किसानलाई आग्रह गर्नुभयो ।  

“हामीले आवाज उठाएनाँै भने प्रतिगमनको फँडाले फेरि डस्न सक्छ, किनकी यसले ऐतिहासिक उपलब्धिविरुद्ध रातदिन प्रहार र षडयन्त्र गरिरहेको छ”, उहाँले भन्नुभयो । यसका साथै अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई सिध्याउन नेतृत्वमाथि प्रहार गर्ने क्रममा आफूमाथि भ्रष्टाचारका साथै अन्य खालका झुटा प्रचार केन्द्रित गरिएको बताउनुभयो । 

“भारत गएका बेला हुँदै नभएको भेटलाई पनि भेटभयो भन्दै नितान्त झुटा प्रचार गरिएको छ”, अध्यक्ष दाहालको भनाइ थियो । आफूले दुई पटक सरकारको नेतृत्व गर्दा ‘भ्रष्टाचार भयो’ भन्ने अवसर कसैलाई नदिएको भन्दै उहाँले अहिले करोडौँ खर्च गरेर आफूविरुद्ध प्रचार केन्द्रित गरेको बताउनुभयो । 

अध्यक्ष दाहालले वामपन्थी शक्तिको एकताका लागि आफू क्रियाशील रहिरहेको जानकारी पनि सम्बोधनका क्रममा दिनुभएको थियो । भेलामा नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासङ्घका नेता बलराम बाँस्कोटाले दाहाललाई वामपन्थी पार्टीबीच एकता गर्ने कार्यमा खुट्टा नकमाउन आग्रह गर्नुभएको थियो । भेलामा महासङ्घ आबद्ध २४ वटा किसान सम्बद्ध घटक सङ्गठनको सहभागिता रहेको छ । 

शुक्रबार​ ७ असोज २०७९ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया