काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपालीको समेत मृत्यु भएको छ । पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले उक्त आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्। वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्। आक्रमणको जिम्मा लश्कर-ए-तैयबा समूहले लिएको छ।
पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरू रहेका छन्। मृत्यु हुने आन्तरिक पर्यटकहरू भारतको उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्। घटनामा दुई स्थानीयको पनि मृत्यु भएको बुझिएको छ।
आक्रमणको खबर पाउनेबित्तिकै साउदी अरेबियाको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदी आफ्नो भ्रमण बीचमै छोडेर भारत फर्कदैछन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक गर्नेछन्। नेपालसहित अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशहरूले उक्त आक्रमणको निन्दा गरेका छन्।
प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएक छन्। यस घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गरेका छन्। सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहेको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेभिटले भने, “पाहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथासिघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने छन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने छन्।”
राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्याएको छ। अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढता पूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्ध नेपाल भारतको साथमा रहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ ।’
उनले सो घटनामा एक नेपाली नागरिक पनि मारिएको समाचार पुष्टि गर्ने प्रयास भइरहेको जानकारी पनि दिएका छन् । उनले लेखेका छन्, ‘पीडितहरूमा एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको छ र आवश्यक सबै सहयोग प्रदान गरिने छ ।
प्रतिक्रिया