काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्। उनको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाए पनि राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन्।
कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका तामाङ नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। पछिल्लो समय आफ्नै मन्त्रालयका सचिव सुरेश आचार्यसँग स्पष्टीकरण मागेका थिए।
तामाङ २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनमा रामेछाप सभापति निर्वाचित भएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
२०७९ मंसिरमा भएको निर्वाचनमा उनी रामेछापबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। तामाङका अनुसार ओलीले गृहमन्त्री लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए। दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको आग्रह अनुसार बुधबार दिउँसो गृहमन्त्री लेखकले तामाङलाई फोन गरेर राजीनामा गर्न भनेका तामाङले बताए । उनले गृहमन्त्रीलाई ‘म राजीनामा गर्दिन’ भनेको बताए । तामाङको जवाफ गृहमन्त्री लेखकले ओलीलाई जानकारी दिएसँगै प्रधानमन्त्रीले तामाङलाई बर्खास्त गरेका छन् ।
राज्यमन्त्री तामाङले भने,‘मलाई राजीनामा गर्न गृहमन्त्रीले भन्नु भएको थियो,’ मैले राजीनामा गर्दिन, किन गर्ने भनेको थिएँ। तर, एकाएक हटाएको जानकारी आयो।’
उनले राज्यमन्त्री प्रधानमन्त्रीले बनाएको नभई पार्टीले बनाएको बताए । तामाङले प्रधानमन्त्रीले हटाउने र राजीनामा दिने भन्दा पनि पार्टीले फिर्ता बोलाउनु पर्ने उल्लेख गरे । उनले पार्टीको सिफारिसमा राज्यमन्त्री भएकाले प्रधानमन्त्रीले हटाए पनि अदालत जाँदा पनि मुद्दा जित्ने दाबी गरे । प्रधानमन्त्रीले बर्खास्त गर्ने नहुने बताए ।
त्यसभन्दा अघि नै परराष्ट्र मन्त्री आरजु राणा देउवाले भने आफूलाई केही सुझाव दिएको उनले बताए।
‘परराष्ट्र मन्त्री आरजु राणाज्यूले चाहिँ तपाईं प्रधानमन्त्रीसँग माफी माग्न जानुस् भन्नुभएको थियो, यो कुलमान हट्नुभन्दा अघि कै कुरा हो,’ तामाङले भने, ‘केपी ओलीसँग माफी मागेर म मन्त्री खान्न भनेर भनिदिएको थिएँ।’
प्रतिक्रिया