×

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

images

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो। आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए । विहान घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको हो ।

बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुगेका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ । आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । 

लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशील थिए । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

 प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज लगेको छ । शव परीक्षणपछि उनकै निवासमा श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । उनका श्रीमती र दुई छोरा छन् ।

बुधबार ११ फागुन २०७८ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया