×

विश्वकप फुटबल - साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध

images

काठमाडौं । साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो ।

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्कायो । खेलको ४८ औँ मिनेटमा  सालेह अलसेहरीले बराबरी गोल गरे । ५३ औँ मिनेटमा सलेम अलदावसरीले गोल गर्दै साउदीको पुनरागमन पुरा गरे  । 

साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुप¥यो । यस हारपछि अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।

यसअघि अर्जेन्टिनासँग चार खेल खेल्दा एक खेल पनि जित्न नसकेको साउदी अरेबियाले अर्जेन्टिनालाई पहिलो पटक पराजित गरेको हो ।

सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयता ३६ खेलमा अपराजित अर्जेन्टिना उच्च लयका साथ कतार पुगेको थियो । विश्वकपअघि अभ्यास खेलमा युएईलाई ५–० ले पराजित गरेको थियो । तर मुख्य प्रतियोगितामा भने अर्जेन्टिना पहिलो खेलमै पराजित भयो ।

लुसेल आइकोनिक स्टेडियममा लिओनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले पहिले अग्रता लिएको थियो । साउदीका साउद अब्दुलहामिदले लिएन्ड्रो परेडेसलाई फउल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले पेनाल्टी प्राप्त गरेको थियो, जसमा कप्तान मेसीले सहजै गोल गर्दै अग्रता दिलाए । उक्त गोलसँगै मेसी चार विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने । उनले यसअघि २००६, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए भने २०१० मा गोल गर्न सकेनन् ।

त्यसपछि अर्जेन्टिनाले गरेको तीन गोल अफसाइड भएको थियो । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल भिएआरले अफसाइड देखाएपछि अर्जेन्टिना अग्रता दोब्बर बनाउनबाट बन्चित भयो ।

पहिलो हाफमा अर्जेन्टिनाले १–० को अग्रता कायम राख्यो । दोस्रो हाफमा भने साउदी अरेबिया सुरुदेखि नै अर्जेन्टिनामाथि हावी बन्यो र पाँच मिनेट अन्तरमा दुई गोल गर्यो ।

४९औं मिनेटमा सालेह अल शेहरीले साउदी अरेबियाका लागि बराबरी गोल फर्काए । बराबरी गरेपछि कन्फिडेन्ट देखिएको साउदीका लागि सालेम अल दावसारीले अर्को गोल गर्दै २–१ को अग्रता दिलाए ।

त्यसपछि अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । अर्जेन्टिनाका केही प्रहारलाई साउदी गोलकिपर मोहम्मेद खालिल अल ओवाइसले बचाए । इन्जुरी टाइममा साउदी अरेबियाका अब्दुलेलाह अल अमरीले गोल लाइनबाट बल क्लियर गरेका थिए ।

उपाधि दाबेदार अर्जेन्टिनाले पहिलो खेलमा पराजित भएपछि अब नकआउट चरण पुग्न बाँकी दुई खेल जित्नैपर्ने दबाब बढेको छ । अर्जेन्टिनाले अब मेक्सिको र पोल्याण्डसँग खेल्नेछ ।

मङ्गलबार ६ मंसिर २०७९ ०७:२० PM मा प्रकाशित

प्रतिक्रिया