काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यलयमा बिहान ११ बजेदेखि बैठक शूरु हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
यसअघि सोमबार शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ता बारे ब्रिफिङ गरेका थिए ।
त्यसपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएकोमा गण्डकी, मधेस र उपत्यका कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूले बोलेका थिए । हरेक केन्द्रीय सदस्यलाई ३-३ मिनेटको समय दिइएको छ ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेका थिए ।
उनले पार्टीको केन्द्रीय सचिवालय र पोलिटब्युरोले प्रस्ताव गरेका विषयमा अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरुले सहमति जनाएको र पूर्वराष्ट्रपति भण्डारीको विषयलाई गम्भीरताका साथ लिदै नेतृत्वले राजनीतिक निर्णय गर्न सुझाव दिएको बताए ।
यस बैठकले यसअघि सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरेको उपाध्यक्ष विष्णु पौडेलले प्रस्स्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको सङ्गठनात्मक प्रस्तावमाथि छलफलपछि अनुमोदन गर्ने छ ।
एमालेले प्रस्तावित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ भने पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने र केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया