×

प्रकोपबाट क्षति भएका पशुपक्षीका लागि राहत

images

प्राकृतिक प्रकोपमा परी क्षति भएका पशुपक्षीका लागि जुम्लामा रु आठ लाख राहत वितरण गरिने भएको छ ।प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको अध्यक्षमा मङ्गलबार बसेको जिल्लास्तरीय राहत वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त राहत कार्यविधिअनुसार क्षति भएका पशुपक्षीका लागि रु आठ लाख उपलब्ध गर्ने निर्णय भएको हो । 

बैठकमा पशुसेवा तथा पशु अस्पताल कार्यालय जुम्लाका कार्यालय प्रमुख गोविन्दबहादुर महतले चालु आर्थिक वर्ष २०७८÷७९ मा गत साउनदेखि हालसम्म भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो । 

उहाँले चालु आवको जेठ मसान्तसमम क्षति भई प्रहरीको मुचुल्काअनुसार पुष्टि भएका भेडा, पाठापाठी, बाख्रा खसी, गाईगोरु, कुखुरा, माछा पोखरीको क्षतिमा पाउने राहत जानकारी दिनुभयो । कार्यालय प्रमुख महतका अनुसार राहत मापदण्डअनुसार कार्यालयलाई आएको रु नौ लाखमध्ये आठ लाख वितरण गर्नुपर्नेछ । रु एक लाख भने असार अन्तिमसम्ममा केही क्षति भएमा वितरण गरिने भएको छ ।

“कार्यालय प्रमुख महतका अनुसार २०७८ कात्तिक २ गते प्राकृतिक प्रकोपले सबैभन्दा बढी तातोपानी गाउँपालिका–७ का किसानका भेडाको क्षति भएको थियो,” उहाँले भन्नुभयो, “उक्त क्षति भने सङ्घीय सरकारले राहत दिने भएको छ । चालु आवको कात्तिक महिनामा ताम्ती क्षेत्रका नौजना किसानका १४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए ।”

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो भए पनि राहत उपलब्ध हुनु राम्रो भएको बताउनुभयो । उहाँले बैठकमा भएको निर्णयअनुसार चाँडै खातामा हाल्न कार्यालयलाई सुझाउनुभयो । गत आवमा भने पशु अस्पताल तथा पशुसेवा कार्यालयले रु १४ लाख राहत वितरण गरेको थियो । 

बुधबार ८ असार २०७९ ०३:१३ PM मा प्रकाशित

प्रतिक्रिया