×

सत्तारूढ दलको बैठक : नागरिकता विधेयकलाई अगाडि बढाउने सहमति

images

सत्तारूढ दलको बैठकमा नागरिकता विधेयकलाई अगाडि बढाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ दलको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 
     
उहाँका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता  विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको थियो । “अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक रहेका छन् । तर उनका सन्तान नागरिकविहीन हुनुपर्ने अवस्था रहेको छ”, सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, “यसलाई अन्त्य गर्नका लागि नागरिकता विधेयक अगाडि बढाउने निर्णय भएको छ ।”

उहाँले प्रक्रिया पूरा गरेर चाँडै नै नागरिकता विधेयक संसद्मा पेश हुनेसमेत जानकारी गराउनुभयो । यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउनका लागि छलफल केन्द्रित भएको बताउनुभयो । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालाले अहिलेसम्म भएको प्रगति विवरणबारेमा जानकारी गराउनुभएको थियो । 
    
सरकारका प्रवक्ता कार्कीले बैठकमा अहिले विकसित राजनीतिक घटनाक्रमका बारेमा विश्लेषण भएको भन्दै महँगी नियन्त्रण गर्नेबारे पनि छलफल भएको बताउनुभयो । 

मन्त्रिपरिषद् पुनर्गठनको कुरा नउठेको उहाँले बताउनुभयो । बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिति थियो ।  

बुधबार ८ असार २०७९ ०९:५७ PM मा प्रकाशित

प्रतिक्रिया