काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न नामले छरिएर रहेका कम्युनिष्ट शक्तिहरुलाई एकताको लागि आह्वान गरेका छन् ।
आज (मंगलबार) पार्टी स्थापना दिवस र १५६औं लेनिन जयन्तीको अवसरमा पेरिसडाँडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले एकताका लागि मार्क्सवाद, लेलिनवादप्रति निष्ठाको साथ छलफल भएको खण्डमा माओवादी जति पनि लचिलो हुन तयार रहेको बताएका हुन् ।
माओवादीले आफ्नो मौलिकतामा पार्टी एकतालाई सुदृढ गर्ने र विचारमा सहमति बनाउने कोशिस गरिराखेको पनि उनले बताए । पार्टी एकताको निम्ति अन्तिम समयसम्म प्रयास गरिरहने पनि उनले बताए । क्रान्तिकारी कम्युनिष्टहरुलाई एकतावद्ध बनाउने जिम्मेवारीबाट माओवादी विमुख नभएको उनले बताए । ‘
आज पार्टी स्थापना दिवस र लेलिन जयन्तीको दिनमा म सबै क्रान्तिकारी कम्युनिष्टहरु जो–जो जहाँ–जहाँ भएपनि उहाँहरु सबैलाई गम्भीरताको साथ, जिम्मेवारीपूर्वक र निष्ठाका साथ म अपिल गर्न चाहन्छु । आउनुस्, बसेर छलफल गरौं र एउटा सही विचारको आधारमा एकीकृत र केन्द्रीकृत भएर समाजवादी क्रान्तिको यात्रा अगाडि बढाउने संकल्प गरौं,’– उनले भने ।
यसअघि एमालेसँगको पार्टी एकता अवसरवाद र बुर्जुवा चिन्तनको कारण सफल हुन नसकेको उनले बताए । उक्त असफलताबाट आफूहरु नथाकेको र नआत्तिएको उनले बताए । कम्युनिष्ट आन्दोलनको एकताको झण्डा बोक्न नछाड्ने उनले बताए । सिद्धान्तहीन एकता घातक हुँदोरहेछ भन्ने कुरा एमालेसँग विगतमा भएको एकताले पुष्टि गरेको पनि उनले बताए ।
‘सिद्धान्तहीन एकता कति घातक हुँदोरहेछ भन्ने कुरा विश्व कम्युनिष्ट आन्दोलनमा हाम्रै आन्दोलन, हाम्रै अनुभवबाट अस्ती भर्खरै हामीले देखिनै सकेका छौं । तपाईँ हामी सबैलाई थाहा छ,’– उनले भने ।
प्रतिक्रिया