काठमाडौं– प्रतियोगिता नै आयोजना हुने अथवा नहुने अन्यौलताबीच नेपाल सुपर लिग (एनएसएल) बारे मंगलबार सुखद समाचार आएको छ । त्यस अनुसार प्रतियोगिता आयोजनाका लागि नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट र अखिल नेपाल फुटबल संघले मंगलबार आठ वर्षको सम्झौता गरेको छ ।
सम्झौता अनुसार एन्फाले प्रतियोगिता आयोजनाका लागि सम्पूर्ण अधिकार नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट दिएको छ । त्यस वापत उसले भने एन्फालाई १७ करोड २१ लाख रुपैंया प्रदान गर्नेछ । सम्झौता कार्यक्रमका अवसरमा पहिलो सिजनका लागि उपलब्ध गराउनु पर्ने एक करोड ५० लाख रुपैंया पनि प्रदान गरिएको छ ।
नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फालाई त्यति बराबरको चेक हस्तान्तरण गरेकी हुन् । नेपालमा आयोजना भएको पहिलो फ्रायन्चाइज लिगको पहिलो संस्करण सन् २०२१ मा आयोजना भएको थियो र त्यसको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।
प्रतिक्रिया