×

पार्टीको विवाद विधानअनुसार नै समाधान गर्नुपर्छ : डा राणा

images

सुदूरपश्चिम, ४ भदौ : नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताउनुभएको छ । 

आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रधिनिधिसभा सदस्य डा राणाले भन्नुभयो, “जुनसकै पनि जीवन्त पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुनसक्छ । तर त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधिविधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ ।”  

उहाँले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्ने सुझाव कार्यकर्तालाई दिनुभयो । उहाँले भन्नुभयो, “म मात्रै हुँ, म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ ।” 

 नेत्री डा राणाले पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गर्न जरुरी रहेकोमा पनि जोड दिनुभयो । अरु राजनीतिक दलहरूले आफूले गरेका साना कामहरूको पनि तिललाई पहाड बनाएर प्रचार गर्ने गरेको तर कांग्रेसले देश, व्यवस्था र नेपाली नागरिकका पक्षमा गरेका कैयौँ राम्रा कामहरूको पनि प्रचार गर्न नसकेको बताउनुभयो । 

 अर्काे एक छुट्टै प्रसङ्गमा नेत्री राणाले आफूबाट कुनै गल्ती या कमीकमजोरी नभए पनि आफ्ना विरुद्ध राजनीतिक षड्यन्त्र हुने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मैले कहीँ कतै कुनै गल्ती गरेको छैन । राजनीतिकरूपमा जे गरेको छु आफ्नो पार्टी तथा देशका लागि गरेको छु, तर पछिल्लो समयमा मेरा विरुद्धमा षड्यन्त्र हुने गरेको छ । मेरा विरुद्धमा अनर्गल प्रचारमात्र हुने गरेको छ ।”

कार्यक्रममा डा राणालाई विकासका कामका लागि उहाँले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको थियो । 

उक्त भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यत्रय सुशीला मिश्र भट्ट, नृपबहादुर ओड र डा जीवन रानाथारु, प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता कमलबहादुर शाहलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा धारणा राख्नुभएको थियो ।

भेलामा नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट पहिलो विद्यावारिधि प्राप्त गर्नुहुने कांग्रेसका केन्द्रीय सदस्य डा जीवन रानाथारुलाई पनि सम्मान गरिएको थियो ।
 

सोमबार ४ भदौ २०८० ०९:२१ PM मा प्रकाशित

प्रतिक्रिया