×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट बारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आइतबार पूर्वराष्ट्रपति भण्डारीसँग भएको भेटवार्ताबारे जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकमा ओलीले राष्ट्रपतिजस्तो उच्च पद र सेनाको परमाधिपति भैसकेर फेरी राजनीति आउनुले राम्रो सन्देश नजाने आफुले स्पष्ट गरेको बताएका थिए । साथै ओलीले पूर्वराष्ट्रपतिकै रुपमा सम्मानित रुपमा बस्न ठीक हुने सुझाव दिएको बैठकमा जानकारी गराएका थए  ।  भण्डारीले आफ्नो सुझावमा विचार गर्ने जवाफ दिएको ओलीले बैठकमा बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठक भोलीसम्म चल्ने छ ।

२- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र  अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको छ ।  भेटवार्तामा रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । अर्थमन्त्री पौडेलसँगको भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।  सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सकृयता र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । 

३- बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको एक विद्यालयमा दुर्घटनाग्रस्त हुदा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।  बंगलादेशको मिडिया डेली स्टारका अनुसार विद्यालयमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा १९ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका छन् ।

४- नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २१.७६ अंकले बढेर २८९२. ७२ विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

५- नेपाल र चीनबीच ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्गबीच भएको भेट वार्तामा विभिन्न चार परियोजनामा हस्ताक्षर भएको हो ।  जस अन्तर्गत चितवनको भरतपुरस्थित वि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । त्यस्तै निजामती कर्मचारी अस्पातालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ । यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ ।  यही अवसरमा रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् । 

६- सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनी काठमाडौँको टोखाबाट सोमबार पक्राउ परेका हुन् । उनीमाथि २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । प्रहरीले अग्रवालले ठगि गरेको भनिएको घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

७-  भारतीय अलराउण्डर नितिश कुमार रेड्डी इङल्याण्डविरुद्धका बाँकी दुई टेस्टबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले चोटका कारण नितिश बाँकी दुई टेस्टबाट बाहिरिएको जानकारी दिएको छ । नितिशले इङल्याण्डविरुद्धका लर्डस र बिर्मीङहम टेस्ट खेलेका थिए ।  उनले लर्डस टेस्टमा ३ विकेट लिएका थिए भने दुवै टेस्टका चार इनिंगमा कुल ४५ रन मात्र बनाएका थिए । त्यस्तै तिब्र गतिका बलर अर्शदीप सिंह म्यानचेस्टरमा विहिबारदेखि हुने इङल्याण्डविरुद्धको चौथो टेस्टबाट बाहिरिएका छन् । प्रशिक्षण सत्रमा नेटमा बलिङ गर्दा उनको देब्रे औंलामा चोट लागेको थियो । त्यस्तै बोर्डले अंशुल कम्बोजलाई टोलीमा थपेको छ । कम्बोज म्यानचेस्टरमा टोलीमा सामेल भएका छन् । 

८- अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए ।

९- नेपाली डिफेन्डर रोहित चन्द जापानी फुटबल दिग्गज केइसुके होन्डाको नेतृत्वमा भर्खरै सुरु गरिएको पहल एसिया वारियर्स एफसीको टोलीमा समावेश गरिएको छ । २०२५ मा स्थापित, एसिया वारियर्स एफसीले महादेशको प्रतिनिधित्व गर्ने प्रसिद्ध एसियाली फुटबलरहरूलाई एकसाथ ल्याएको छ । होन्डाले अन्तर्राष्ट्रिय रुपमा एसियन फुटबलहरुलाई चिनाउन र नयाँ अवसर सिर्जना गर्न यसैबर्ष एशियन वारियर्सको शुरवात गरेका हुन् ।

१०-  राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागले जनाएको छ ।

११- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ९३ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

१२- अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । किङस्टोनमा सम्पन्न पहिलो टी-२० खेलमा अस्ट्रेलिया ३ विकेटले विजयी भएको हो । वेस्ट इन्डिजले दिएको १९० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १८.५ ओभरमा ७ विकेट गुमाउदै जित हासिल गरेको थियो । यो जितपछि अस्ट्रेलिया ५ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । अब सिरिजको दोस्रो खेल बुधबार हुने छ ।

१३- गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना  गर्ने भएको छ । एनआरएन आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको आइसिसीका महासचिव बाबुराम (बी आर) लामाले जानकारी दिए । 

१४- सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को बैठकले इङ्गल्याण्ड र वेल्स क्रिकेटले पहिले नै विश्व टेस्ट च्याम्पियनसिपको अर्को तीन सिजनको फाइनलको आयोजना गर्ने निर्णय गरेको छ । आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप २०२७, २०२९ र २०३१ को फाइनल पनि इङ्गल्याण्डमा नै खेल्ने निर्णय गरेको छ । इङ्गल्याण्ड र वेल्स क्रिकेटले अहिलेसम्म भएका तीन फाइनल खेलहरू पनि आयोजना गरिसकेको छ ।

१५- राप्रपा कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुले उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पार्टीको जिम्मेवार पदबाट मुक्त गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुले गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामुहिक वक्तव्यलाई आधार बनाएर बिना कुनै सूचना र स्पष्टीकरण निष्ठावान नेता गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट पदमुक्त गर्ने कार्यलेकार्यकर्तामा निराशा बढेको उल्लेख गरेका छन् ।

१६- बंगलादेशले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न पहिलो टी-२० खेलमा बंगलादेशले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १११ रनको लक्ष्य पछाएको बंगलादेशले १५.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यो जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल मंगलबार खेल्ने तालिका रहेको छ ।

१७-  मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले खानेपानीमन्त्री प्रदीप यादव अनुगमनमा निस्किएका छन् । गए राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् ।

१८- मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् । प्रहरीले अहिराजलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको हो । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि अहिराज गत बैशाखदेखि फरार थिए । उनीविरूद्ध २५ वर्षकी महिलाले बलात्कार आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख बनेका थिए ।

१९- गोरखाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यकबाहेकका सवारी संचालनमा रोक लगाइएको छ । समन्वय समितिको आइतबारको बैठकपछि जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै गोरखा क्षेत्रमा पर्ने राजमार्गमा समेत रात्रीकालीन यातायात पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको जानकारी दिएको हो । ग्रामीण क्षेत्रको १४ रुटमा चल्ने सवारीलाई पनि मनसुन अवधिभर चल्ने ठाउँ तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिएका छन् । साथै बाढी पहिरोका सूचना जतिसक्दो छिटो नजिकका सुरक्षा निकायलाई प्रदान गर्न पनि आग्रह गरिएको छ ।

२०- कास्कीबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग भई चल्ने अत्यावश्यक सेवा बाहेकका लामो दूरीका सवारी साधनहरु आइतबार साँझ ४ बजेपछि बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि कास्कीबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग भई चल्ने अत्यावश्यक सेवा बाहेकका लामो दूरीका सवारी साधनहरु ४ बजेपछि र छोटो दूरीका सवारी साधनहरु साँझ ५ बजेपछि प्रस्थान विन्दु (कास्की जिल्लाको छोरेपाटन) बाट गन्तव्य स्थानका लागि सञ्चालन नहुने जानकारी दिएको छ ।

सोमबार ६ साउन २०८२ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया