×

एसईईकाे नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

images

 राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा अगाडि बढिरहेकाे जानकारी दिनुभयाे । साथै उहाँले प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने बताउनुभयो । 

राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले पनि असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको उहाँकाे भनाइ छ ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ । 

यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएकाे वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो । 

मङ्गलबार ७ असार २०७९ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया