×

सधैँ विजेता : गुमानसिंह अर्याल

images

लमजुङ: गुमानसिंह अर्यालले कहिल्यै हार ब्यहोर्नु परेको छैन । बेँसीशहरका ६५ वर्षीय अर्याल प्रधानपञ्चदेखि हालको स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता बन्न सफल हुनुभएको छ । बेँसीशहर नगरपालिका वडा नं ९ का अर्याल बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै पुनःदोस्रो कार्यकालका लागि नगर प्रमुख बन्न सफल हुनुभएको हो । 
 
पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा विसं २०४३ मा उहाँ ३० वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधि अर्थात बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च बन्नुभएको थियो । उक्त बेला बमबहादुर अर्याल, रणबहादुर अधिकारी, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेल, गणेशबहादुर रावललगायत सात जना उम्मेदवारलाई हराउँदै उहाँ प्रधानपञ्च हुनुभएको थियो । विसं २०४६ को परिवर्तसँगै गाउँ पञ्चायत गाविसमा परिणत भयो । 

सोपश्चात् विसं २०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले)ले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नं ८ को अध्यक्षको उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनावी प्रतिस्पर्धी गर्नुभएका बराल पराजित हुनुभयो तर, भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित हुनुभयो । 

विसं २०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई पुनःबेँसीशहर गाविसको अध्यक्ष पदको उम्मेदावर बनायो । मोहनबहादुर थापालाई उपाध्यक्षको टिकट दियो । तर, हार्नुभयो । यता कांग्रेस उम्मेदवार बेँसीशहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल भने गाविस अध्यक्षमा निर्वाचित हुनुभयो । 

विसं २०५४ मा तिलकबहादुर पौडेललाई हराएका अर्यालसँग प्रतिस्पर्धा गर्न पौडेलकै जेठा छोरा भेषबहादुर पौडेल विसं २०७४ को निर्वाचनमा होमिनुभयो । तर, अर्यालले २९७ मतान्तरले पौडेललाई हराउनुभयो । अर्यालले त्यतिबेला सात हजार ६२४ मत प्राप्त गर्नुभएको थियो भने पौडेलले सात हजार ३२७  मत प्राप्त गरेको थियो ।  

सो बेलामा नेकपा (माओवादी केन्द्र)सँग मिलेर एमाले चुनावमा होमिएको थियो । तर यसपटकको स्थानीय तह निर्वाचनमा एक्लै निर्जाचन प्रतिस्पर्धामा लागेको एमालेको उम्मेदवार अर्यालले कांग्रेस, गठबन्धको तर्फबाट कांग्रेसका श्रीकान्त घिमिरेलाई प्रमुखमा पछि पार्दै दुई हजार आठको फराकिलो मतान्तरले जित हासिल गर्नुभएको छ । 

अर्यालले नौ हजार ४७९ मत प्राप्त गरेको गर्नुभएको छ भने कांग्रेसका घिमिरेले सात हजार ४७१ मत प्राप्त गर्नुभयो । विसं २०३७ देखि कानून व्यवसायमा लाग्नुभएका अर्याल वरिष्ठ अधिवक्तासमेत हुनुहुन्छ । उहाँ जिल्लास्थित बार इकाइको अध्यक्षसमेत भइसक्नुभएको छ । हाल एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रहनुभएको उहाँ यसअघि जिल्ला कमिटी लमजुङको दुई कार्यकाल उपाध्यक्ष र पटकपटक कमिटीमा बसेर काम गरिसक्नुभएको छ ।
 
अर्याल करिब चार दशकदेखि जनप्रतिनिधमा क्रियाशील रहँदै आउनुभएको छ । उहाँ विसं २०४३ देखि हालसम्म भएका पाँच वटा चुनावमा निरन्तर विजयी यात्रामा अघि बढिरहनुभएको छ । उहाँले कहिल्यै हार बेहोर्नु परेको छैन । जनताको निःस्वार्थ सेवाको परिणामले आफू लगातार जनप्रतिनिधि बन्न सफल बनेको उहाँको भनाइ छ । 

“नगरलाई समानुपातिक ढङ्गले विकसित बनाउने, सबैलाई समेटेर समावेशी सिद्धान्तअनुसार नागरिकको सम्मान गर्दै अघि बढिरहन्छु”, अर्यालले भन्नुभयो । राजनीतिमा विश्राम लिनेबारे सोच्ने बेला नभएको उहाँ तर्क गर्नुहुन्छ । 

शनिबार ७ जेठ २०७९ ०५:२१ PM मा प्रकाशित

प्रतिक्रिया