×

एमसीसी टुंग्याउन १२ फागुनमा संसद् बैठक, जसपाले १३ गते धारणा बनाउने

images

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्न १२ फागुनमा प्रतिनिधिसभा बैठक बोलाएका छन् तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमसीसीबारे पार्टीको धारणा बनाउन त्यसको एकदिन पछि बैठक राखेका छन्।

जसपा अध्यक्ष यादवले एमसीसीबारे धारणा तय गर्न १३ फागुनमा पार्टीको कार्यकारिणी बैठक बोलाएका छन्।

सरकारले आइतबार विवाद र प्रमुख प्रतिपक्षीको जारी संसद् अवरोधकैबीच एमसीसी संसद्मा टेबुल गरेको छ।

हालसम्म एमसीसीबारे जसपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। अध्यक्ष यादव एमसीसी परियोजनाका विषयमा मौन नै छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा खुलेर आफ्नो विचार राखिसकेका छन्।

पार्टीभित्र अध्यक्ष यादव र भट्टराईबीच विवाद कायमै रहेको बेला जसपामा एमसीसीलाई लिएर थप किचलो बढेको छ ।
पार्टीको कार्यकारणी अधिकारको बाँडफाटदेखि निर्णय प्रक्रियाहरू पारदर्शी हुनुपर्ने आवाज उठेपछि जसपामा यादव र भट्टराईको सम्बन्ध चिसिएको छ।

 

सोमबार ९ फागुन २०७८ ०१:५८ PM मा प्रकाशित

प्रतिक्रिया