×

सरकारले पास गर्‍यो चार महत्वपूर्ण नीति

images

काठमाडौँ। सरकारले चार महत्वपूर्ण नीति पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पास गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७९-२०८९ र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७८ पारित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेयले जानकारी दिए।

त्यस्तै समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका राष्ट्रिय बालबालिका नीति २०७९ र अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ पास भएको उनले बताए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत लगानी पुर्‍याउनु पर्ने उल्लेख छ। स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधसी, दलित, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय उल्लेख गरिएको छ ।

बलबालिका नीतिमा बालबालिकाका चार अधिकारको ग्यारेन्टी गरिएको छ । बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई नीतिमा उल्लेख गरिएको सचिव पाण्डेयले जानकारी दिए ।

अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिमा अपांगको सबै निकायमा पहुँच, रोजगारीको व्यवस्था, सहुलियतको व्यवस्था र स्वास्थ्य उपचारबारेको विषय मुख्य रुपमा प्राथमिकताकासाथ राखिएको छ । 

मङ्गलबार ५ पुस २०७९ ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया