×

प्याराग्लाइडिङ खेलाडी स्व. निसिमलाई मानार्थ गोल्ड मेडल, पोखरा रंगशालामा अर्धकदको शालिक राखिने

images

पोखरा –नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्ध कदको सालिक स्थापना गरिने भएको छ । बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११५ औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मान स्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

साथै खेलाडी थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ। उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो। आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो। उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ। 

गोरखा स्थायी घर भई हाल पोखरा–१० बस्दै आएका थापा नेपाल आर्मीसँग करारमा अनुबन्ध भएर नवौं राष्ट्रिय खेलकुदमा सहभागी थिए । खेलकै क्रममा ज्यान गुमाएका उनलाई बिहीबार उनलाई मानार्थ स्वर्ण पदक हस्तान्तरण गरिएको हो । पोखरा रंगशालामा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले थापाको पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरे । 

दुर्घटनापछि प्याराग्लाइडिङ प्रतियोगिता बिचमै रोकिएको थियो । त्यसैले तयारी खेलकै नतिजालाई आधार मानेर विजेता घोषित गरियो । जसमा गण्डकी प्रदेश र नेपाल आर्मीले समान ३/३ स्वर्ण पदक हात पारेका हुन् । निसिम सहभागी भएको विधामा आर्मीले रजत पदक जितेको छ । विजेता बनेका खेलाडीलाई मन्त्री गहतराजले पोखरा रंगशालामा नै पदक हस्तान्तरण गरेका छन् । तर, विजयी खेलाडीलाई पदक गलामा नभई हातमा दिइएको छ ।


 

बिहीबार ३ कात्तिक २०७९ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया