×

नवौँ राष्ट्रिय खेलकुदको आज समापन हुँदै

images

पोखरा। गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः ३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुँने भएका छन्। यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

 समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ ।  महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ । 

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए ।

प्रतियोगिता समापन अघि पोखरा रङ्गशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ। विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ।

नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन्। केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज हुँदैछ। समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

बिहीबार ३ कात्तिक २०७९ ०८:०७ AM मा प्रकाशित

प्रतिक्रिया