×

पाथीभरामा फेरि झडप, १२ जना घाइते

images

ताप्लेजुङ । ताप्लेजुङमा ‘नो केबलकार’ पक्ष र प्रहरीबीच झडप हुँदा दुवै पक्षका गरी १२ जना घाइते भएका छन् ।अभियानका समर्थकहरूले पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट बृहत् सद्भाव र्‍याली निकाल्दै माथिल्लो फेदि पुगेका थिए । माथिल्लो फेदी पुगेका प्रदर्शनकारी नाराबाजी गर्दै केवलकारको बेस स्टेसनसम्म पुगेका थिए ।

पाथीभरा केवलकार परियोजनाको विरोध चर्किँदै गएपछि उनीहरूले ‘केबलकार बन्द गर’ भन्दै नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । घटनामा ११ सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका हुन् ।

बेसस्टेसनलाई सुरक्षा गरिरहेका सुरक्षाकर्मिको घेरा तोडेर प्रदर्शनकारीहरु अघि बढ्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्‍यो । सोही क्रममा दुवै पक्षबीच ठेलमठेल हुँदा झडपको अवस्था सिर्जना भएको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख नेत्रप्रसाद शर्माले स्थिति नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेको जानकारी दिएका छन् । प्रदर्शनकारीहरू झन् आक्रोशित बनेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको प्रजिअ शर्माको भनाइ छ।

फागुन ६ देखि ८ गतेसम्म चलेको पदयात्राको अन्तिम दिन बिहीबार आन्दोलन थप चर्किएको र सोही सद्भाव ¥यालीमा सहभागी राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङलगायतका नेताहरू भने पाथीभरा मन्दिरसम्म पुगेका छन् । आन्दोलनरत समूहले केवलकारको बेस स्टेसनतर्फ अघि बढेर प्रदर्शन जारी राखेका छन् । प्रशासनले अतिरिक्त सुरक्षा सतर्कता अपनाएको छ । अवस्था सामान्य रहे पनि बेस स्टेसन अगाडि आन्दोनकारीले नाराबाजी जारी राखेका छन् ।

बिहीबार ८ फागुन २०८१ ०७:२६ PM मा प्रकाशित

प्रतिक्रिया