×

मन्त्रीमाथि सांसदको आक्रोश, रविको कडा रुलिङ– 'अराजकता भए फूलमाला लगाएर बिदाइ गरिदिन्छु'

images

काठमाडौँ, ३ भदौ (२०८३) । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले आफ्ना मन्त्री र सांसदहरूलाई संसद् तथा सार्वजनिक वृत्तमा मर्यादित र जिम्मेवार भएर प्रस्तुत हुन कडा निर्देशन दिएका छन्। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बुधबार झन्डै तीन घण्टासम्म चलेको आकस्मिक बैठकमा सभापति लामिछानेले कडा रूपमा प्रस्तुत हुँदै भने, “अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस्, सांसद र मन्त्री दुवैले आफ्नो व्यवहारमा संसदीय मर्यादा कायम गर्नुपर्छ।”

पछिल्लो समय संसद्मा मन्त्रीहरूले प्रश्नोत्तरका क्रममा आक्रामक शैली अपनाएको र मन्त्रीहरूसँग चित्त नबुझ्दा सांसदहरूले पनि रुखो व्यवहार देखाएको भन्दै चौतर्फी आलोचना बढेपछि लामिछानेले यो बैठक बोलाएका हुन्।

राजनीतिलाई पाँच वर्षको जागिर मात्र सम्झिने हो भने फूलमाला लगाएर बिदाइ गरिदिने तर संसद्‌मा अराजकता सहन नसकिने लामिछानेको चेतावनी थियो। र सांसद दुवैले आफ्ना सदन तथा बाहिरका गतिविधि, भ्रमण र भेटघाट पारदर्शी बनाउनुपर्ने र ती सबै विवरण अनिवार्य रूपमा 'आरएसपी पल्स' (RSP Pulse) मोबाइल एपमा अपडेट गर्नुपर्ने निर्देशन दिइएको छ। सांसदहरूको गुनासो सम्बोधन गर्दै लामिछानेले आगामी दिनमा मन्त्रीहरूको कार्यशैली परिवर्तन हुने तर तत्कालै मन्त्रीहरू भने परिवर्तन नगरिने स्पष्ट पारे। संसद्मा बोल्दा संसदीय दललाई जानकारी गराउन, विपक्षीको उकसाहटमा लागेर प्रतिवादमा नउत्रिन र आफ्नो पोशाक शैली (Dress Code) को समेत विशेष ख्याल गर्न उनले सचेत गराए।

बैठकमा रास्वपाका सांसदहरूले आफ्नै पार्टीका मन्त्रीहरूको कार्यशैलीप्रति तीव्र असन्तोष व्यक्त गरेका थिए। सांसदहरूले मन्त्रीहरूले संसद्मा चित्तबुझ्दो जवाफ नदिएको, पार्टीकै सांसदहरूका सुझावलाई बेवास्ता गरेको र कर्मचारीतन्त्रको घेराबन्दीमा परेको गुनासो पोखेका थिए।

जवाफमा सभापति लामिछानेले मन्त्रीहरूलाई आत्मालोचना गर्न र सांसदहरूलाई आफ्नो प्रस्तुतिका क्रममा संयमता अपनाउन आग्रह गरे। उनले मन्त्री फेर्ने हल्ला निराधार रहेको प्रष्ट पार्दै काम गराई र बोलीको शैलीमा भने तत्काल सुधार आउनुपर्ने सर्त राखे।

पार्टीले आफ्ना जनप्रतिनिधिहरूको कामकारबाहीलाई जनतामाझ पारदर्शी बनाउन 'आरएसपी पल्स' (RSP Pulse) एपलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। अबदेखि कुन मन्त्रीले कहाँ भ्रमण गरे, कुन सांसद कुन कार्यक्रममा सहभागी भए र संसद्मा के विषय उठाए भन्ने सबै विवरण सो एपमा अनिवार्य राख्नुपर्नेछ। यसले गर्दा नेताहरूको कामको मूल्याङ्कन सिधै जनता र पार्टी नेतृत्वले गर्न सक्नेछ।

सभापति लामिछानेले आफ्ना मन्त्री र सांसदहरूलाई घमण्ड त्यागेर आपसी सहकार्य र नागरिकका अपेक्षा पूरा गर्ने हिसाबले नतिजामुखी काममा ध्यान दिन निर्देशन दिँदै बैठक टुङ्ग्याएका थिए।

बैठकमा रास्वपाका सांसदहरूले आफ्नै दलका मन्त्रीहरूमाथि तीव्र असन्तुष्टि पोखेका थिए। सांसदहरूले गुनासो गरे अनुसार, उनीहरू जनताका समस्या बोकेर मन्त्रालय जाँदा मन्त्रीहरूले भेट्ने समय दिँदैनन् र भेटिहाले पनि समस्या समाधानमा चासो देखाउँदैनन्। बैठकमा सांसदहरूले मन्त्रीहरूले विभिन्न सरकारी निकायमा गरेका राजनीतिक नियुक्तिका विषयमा प्रश्न उठाएका थिए। मन्त्रीहरूले पार्टीको नीति विपरीत 'मनलाग्दी नियुक्ति' गरेको भन्दै रविकै अगाडि मन्त्रीहरूसँग जवाफ मागिएको थियो।

पछिल्लो समय संसद्मा रास्वपाका मन्त्री र सांसदबीच नै दूरी बढेको प्रष्ट देखिएको थियो। मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकै तर्फबाट परराष्ट्रमन्त्री बनेका शिशिर खनालको जवाफप्रति चित्त नबुझेपछि सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन्। तर, सभामुख डीपी अर्यालले समय नदिएपछि उनी आक्रोशित हुँदै संसद् बैठक नै छाडेर बाहिरिएकी थिइन्, जसले पार्टीको आन्तरिक विवादलाई छताछुल्ल पारेको थियो।

आफ्नै सांसदहरूले आलोचना गरेपछि बैठकमा सहभागी मन्त्रीहरूले आफ्नो बचाऊ गर्दै मन्त्रालयको कामबारे ब्रिफिङ गरेका थिए।बैठकमा गृहमन्त्री गुरुङले घरझगडा सडकमै वा संसद्‌मै लैजाँदा विपक्षी दलहरू बलियो हुने चेतावनी दिए। उनले भने, “पार्टीभित्रको असन्तुष्टि सदनमा नलैजानुस्, घरको झगडा घरभित्रै मिलाउनुपर्छ।”

बजारमा देखिएको ग्यास अभावका विषयमा स्पष्टीकरण दिँदै उद्योग मन्त्रीले आधा सिलिन्डर ग्यासका कारण केही समस्या देखिए पनि केही दिनभित्रै यो समस्या समाधान हुने दाबी गरे। अर्थमन्त्री वाग्लेले ग्यास खरिदका लागि ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य बढ्न सक्ने भएकाले आगामी दिनमा थप बजेट व्यवस्थापन गर्नुपर्ने हुन सक्ने बताए।

सबै पक्षको कुरा सुनेपछि सभापति लामिछानेले मन्त्रीहरूलाई सांसदले उठाएका विषय गम्भीरतापूर्वक सम्बोधन गर्न निर्देशन दिए। उनले सांसदहरूलाई पनि मन्त्रीहरूले कतै गलत काम गरेको भेटेमा संसद्मा कराउनुको सट्टा प्रमाणसहित पार्टी सचिवालयमा उजुरी दिन सचेत गराए। लामिछानेले तत्काल मन्त्रिपरिषद् पुनर्गठन (मन्त्री फेरबदल) नहुने स्पष्ट पार्दै दुवै पक्षलाई सँगै मिलेर जनताको काममा लाग्न निर्देशन दिएका छन्।

बुधबार ३ भदौ २०८३ ०७:४२ PM मा प्रकाशित

प्रतिक्रिया