×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- गृहमन्त्रालयले संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि ढाँचा सहित सार्वजनिक गरेको छ । नेपालको सामाजिक सेवा तथा विकासको क्षेत्रमा क्रियाशील संस्थाको भूमिकालाई सामाजिक विकासको प्रक्रियामा मूलप्रवाहीकरण गरी संस्थागत संगठन, विकास र कार्य सञ्चालनको मामिलामा सुशासनको स्थिति कायम राखी राख्नको लागि तथा संस्थालाई पारदर्शी, जवाफदेही, उत्तरदायी र जिम्मेवार बनाउन संस्थाहरुको व्यवस्थापन समेत गर्न संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न नयाँ ऐन निर्माण गर्न आवश्यक देखिएकाले विधयेक अघि बढाइएको हो । गृहमन्त्री रमेश लेखकले गृहको नेतृत्व सम्हालेपछि मन्त्रालयको कानूनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर विभिन्न विधयेकहरु अघि बढाउनुभएको छ । सो क्रममा मंगलबार विधयेकका ढाँचासहित राय सुझावका लागि पन्ध्र दिनको समयावधी राखेर सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

२- विपक्षी दलहरुले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्ने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले उपसभामुख हटाउन चालेको कदमको भर्त्सना गर्दै असफल पार्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको हो । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख राना मगरलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् कब्जा गर्ने नियत राखेको बताउदै प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।

३-  चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गर्दै चलचित्रको सट लिएर शुभमुहूर्तमा केदार घिमिरे 'माग्ने बुढा'ले नरिवल फोडर र कलाकार रवि गिरीले क्लयाप हानेर गरिएको हो । चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ । काठमाडौंबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ । करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए । 

४- सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । नेकपा एमालेले उपसभामुखको विषयमा निर्णय लिन आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ भने कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएर छलफल गर्ने भएको छ । कांग्रेसले पदाधिकारी बैठकपछि संसदीय दलको बैठक बस्ने भएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखलाई हटाउन महाअभियोग लगाउने विषयमा सहमति भएको स्रोतले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो । उपसभामुख रानालाई यसअघि अमेरिकाको भिसाको लागि दुताबासलाई पत्र लेखेर पदको दुरुपयोग गरेको आरोप छ । 

५- सशस्त्र प्रहरी महानिरीक्ष राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नको लागि थप कडाई गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा निर्देशन दिदै उनले जवाफदेही र जिम्मेवार बन्न तथा चेनअफ कमाण्डलाई कायम राख्न मातहत सबै कमाण्डरहरुको उत्तिकै भूमिका हुने बताए । सीमा ईलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रुपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा वा शंका लाग्नसाथ कुनै पनि कमाण्डर छानविन र कारवाहीको भागिदार बन्ने उनले बताए ।

६-  रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी रुपन्देही-३ को उपनिर्वाचनको दल दर्ता नभएपछि स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । श्रीमती रन्जिता श्रेष्ठसँग विवाद भएपछि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता समेत नभएको प्रसंगमा सामाजिक सञ्जालमा लेख्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । उनले भनेका छन्- निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रिय समितिको बैठक बसाएर निर्णय बुझाए भैहाल्थ्यो त । न केन्द्रिय समितिको बैठक बसाउने,न लेखापरीक्षण गराउने,न पार्टीलाई चलाएमान बनाउने ? अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ? अहिलेपनि तुरुन्त केन्द्रिय समितिको बैठक बोलाए भैहाल्यो नि । बाँकि मनोनीत साथीहरूलाई अध्यावधिक गराइदिनु,टण्टै साफ । दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै जितिन्न । हामी सहयोगी मात्रै होइन,सहयोद्धा पनि हौं । रह्योकुरा रुपन्देहीको । हाम्रो उम्मेदवार उठ्छ । म राजनैतिक ब्यक्ति हो । यहि सातादेखि प्रचारप्रसारमा खटिन रुपन्देही आउँछु । समस्या चर्काउन तिर होइन,समाधान तिर लागौं । पार्टी बिभाजनका सहयोगीलाई दलबाट मात्रै होइन,समुहबाटै बहिष्कार गरौं । 

७- भारतले एसिया कप टी-२० खेल्ने टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्डले सूर्यकुमार यादवको कप्तानीमा एशिया कप खेल्ने टिमको घोषणा गरेको हो । एशिया कपका लागि टेस्ट कप्तान शुभमन गिललाई उपकप्तान बनाइएको छ । रिंकु सिंहले टिममा स्थान बनाउन सफल भएका छन् भने श्रेयस अय्यरलाई यस पटक पनि बेवास्ता गरिएको छ । भारतीय टोलीमा चार विशेषज्ञ ब्याट्सम्यान छन् भने चार अलराउन्डर छन् । जितेश शर्मा र सन्जु सामशनको रूपमा दुई विकेटकिपर ब्याट्सम्यान छन् भने तीन विशेषज्ञ पेसर र दुई विशेषज्ञ स्पिनर छन् । भारतीय टिम: सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा, जसप्रीत बुमराह, वरूण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीप यादव, संजु सामसन , हर्षित राणा र रिंकु सिंह । भारत एशिया कपमा पाकिस्तान, ओमान र युएईसँगै समुह ए मा रहेको छ । भारतले पहिलो खेल सेप्टेम्बर १० मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल सेप्टेम्बर १४ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल सेप्टेम्बर १९ मा ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।

८- आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

९- खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ । मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गरेका हुन् । सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन समेत दिए ।

१०- प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गरे ।

११- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरिरहेको बेला पनि युक्रेनमा रूसी आक्रमण जारी रहेको छ । पोल्टाभा क्षेत्रका गभर्नरले रूसले यस युक्रेनी शहरमा आक्रमण गरेको बताएका छन् । रुसले विद्युत केन्द्रहरुमा आक्रमण गरेको र विद्युत कार्यालयहरूमा पनि क्षति पुर्‍याएको उन्ल बताएका छन् । पछिल्लो आक्रमणमा हताहतको भने कुनै रिपोर्ट गरिएको छैन, तर लुब्नी जिल्लामा लगभग १५ सय घर र ११९ व्यावसायिक केन्द्रहरूमा बिजुली बन्द भएको बताइएको छ । उही समयमा, रूसको दक्षिणपश्चिमी प्रशासनले युक्रेनी ड्रोन आक्रमणमा भोल्गोग्राडको एक रिफाइनरी र अस्पतालको छानामा आगलागी भएको बताइएको छ । यद्यपि, यो ड्रोन नष्ट भएको छ ।

१२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेको विषयको आफुहरुले विरोध गर्न बताएका छन् । प्रचण्डले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त गरेको महिलालाई अहिले अनाहकमा हटाउने कोसिस भएको भन्दै यसको आफुहरुले विरोध गर्ने बताएका हुन् । साथै प्रचण्डले उपसभामुख रानामगरले कुनै गलत काम नगरेको समेत दाबि गरेका छन् ।  उनले भने- 'उहाँहरुको एटेम्ट त धेरै पहला देखिको हो, उपसभामुख हटाउने, तर त्यो गलत गर्दै हुनुहुन्छ, गल्ति त उहाँहरुले गरिनै रहनुभएको छ, यो सरकार बने देखिनै उहाँहरुले गल्ति बाहेक राम्रो काम त गरेकै छैन, एउटा महिला, आदिबासी जनजाती महिला, सामाजिक सेवा, बालबच्चाको हेरचाह गर्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त  गरेको महिलालाई अहिले अनाहकमा हटाउने जो कोशिस गर्नुभएको छ, गलत छ यो, हामी यसको विरोध गर्छौं, उहाँले केहि गरेको केहि प्रमाण छैन ।' 

१३- नेपालले होबार्ट हुरीक्यान्सलाई ६६ रनले पराजित गरेको छ ।  अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको होबार्ट हुरीक्यान्सले १६.१ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएको थियो । नेपालको जारी सिरिजमा चौथो खेमा यो पहिलो जित हो । अब नेपालले अर्को खेल भोली मेलवर्न रेनेगेड्ससँग खेल्ने तालिका रहेको छ । 

१४- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष निकालेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन् । आज बिहानको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम, कारबाहीबारे संक्षिप्त जानकारी गराएको बताउदै सापकोटाले सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको बताए । 

१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भिटामिन डी को कमि भएको पाइएको छ । ट्रमा सेन्टरका डा. जितेन्द्र प्रसाद यादवले परिक्षण गरेपछि गरेको रगत जाँचमा लामिछानेको शरीरमा भिटामिन डी को कमी देखिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रगत जाँचको रिपोर्ट बारे डा. यादवले लामिछानेलाई भेटेरनै ब्रिफ गर्न उनी नख्खु कारागार पुगेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

१६- प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलसँग बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको छ । हमासलाई दिइएको यो प्रस्ताव इजिप्ट र कतारको मध्यस्थतामा  गत जुनमा अमेरिकी राजदूत स्टीव विटकफले दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ । यस योजना अनुसार, पहिले ६० दिनको युद्धविराम लागू गरिनेछ । यसपछि, हमासले बाँकी ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्नेछ । यी मध्ये २० जना जीवित रहेको अपेक्षा गरिएको छ । यसपछि, स्थायी युद्धविराममा वार्ता अगाडि बढ्नेछ । यद्यपि, इजरायलको प्रतिक्रिया अझै आएको छैन। गत हप्ता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरियो भने मात्र देशले कुनै पनि सम्झौता स्वीकार गर्ने बताएका थिए ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १२ सयले घटेर तोलाको एक लाख ९५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९६ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।

१८- बलिवुडका चर्चित अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको छ । हिन्दी सिनेमाहरुमा सहायक भूमिकाका लागि प्रसिद्ध पोतदारको गएराती मुम्बईस्थित जुपिटर अस्पतालमा उपचारको क्रममा निधन भएको जिन्यूजले उल्लेख गरेको छ । उनी '३ इडियट्स' फिल्ममा प्राध्यापकको भूमिका निर्वाह गरेर प्रसिद्ध भए । फिल्ममा उनको एउटा प्रसिद्ध संवाद 'कहना क्या चाहते हो ? निकै लोकप्रिय भयो, यो संवाद मीम्सको दुनियाँमा लाखौं पटक प्रयोग भएको छ । अच्युत पोतदारले '३ इडियट्स' बाहेक 'दबंग २', 'फेरारी की सवारी' र अमिताभ बच्चनको 'भूतनाथ' मा पनि देखा परे । उनले टिभी सिरियल 'अमिता का अमित' मा पनि अभिनय गरेका थिए ।

१९- मनिका विश्वकर्मा २०२५ को मिस युनिभर्स इन्डिया बनेकी छिन् । यस वर्षको अन्त्यतिर, उनले थाइल्याण्डमा आयोजना हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने भएकी छन् । राजस्थानको जयपुरमा लगातार दोस्रो वर्ष आयोजित एक आकर्षक समारोहमा, मनिका विश्वकर्मालाई मिस युनिभर्स इन्डिया २०२५ को ताज पहिराइएको हो । ग्ल्यामर र प्रतिभाले चिनिएको भव्य समापनमा, मिस युनिभर्स इन्डिया २०२४ रिया सिंघाले आफ्नो उत्तराधिकारी मनिकालाई ताज हस्तान्तरण गरिन् । मनिकाले अब नोभेम्बरमा थाइल्याण्डमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

२०-  रुस र युक्रेनबीच जारी द्वन्द्व अन्त्य गर्ने प्रयासको क्रममा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनपछि अब युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् । यस क्रममा धेरै युरोपेली नेताहरू पनि उपस्थित थिए । वार्ताका क्रममा अमेरिकी राष्ट्रपतिले एक बयान मार्फत ठूलो संकेत दिएका छन् । उनले दुई देशबीचको यो युद्ध चाँडै समाप्त हुने दाबी समेत गरेका छन् । उनले भनेका छन्- 'पुटिन पनि यसलाई निरन्तरता दिन चाहँदैनन् । जेलेन्स्की पनि यसको अन्त्य गर्न चाहन्छन् । सम्पूर्ण विश्व युद्धबाट वाक्क भइसकेको छ। चाँडै शान्ति स्थापित हुनेछ, युद्ध रोकिनेछ । यो कहिले हुन्छ भनेर थाहा छैन ।' यस क्रममा उनले आफ्ना पूर्ववर्ती जो बाइडेनलाई कडा निशाना बनाए । उनले यी दुई देशबीचको युद्धको लागि बाइडेन प्रशासनलाई जिम्मेवार ठहर गरे । जेलेन्स्की र युरोपियन नेताहरुसँगको कुराकानीका बीचमा ट्रम्पले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग पनि टेलिफोन कुराकानी गरेका थिए ।

 

मङ्गलबार ३ भदौ २०८२ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया