×

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

images

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

पौडेलकाअनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । 

“देशभरी मनसुनको प्रभाव छैन”, पौडेलले भन्नुभयो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगाडी अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ । नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षभरीको ८०% पानी पर्छ । 

राति प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार​ ५ असार २०७९ ११:५५ PM मा प्रकाशित

प्रतिक्रिया