×

नवौं राष्ट्रिय खेलकुद- सोमलाई कीर्तिमानी स्वर्ण

images

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत  पुरुष चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।

कुमालले निर्धारित दुरी ४७.९५ सेकेण्डमा पूरा गर्दै सन् १९९० मा आशाराम चौधरीले चीनमा सम्पन्न एसियन गेम्समा राखेको ४८.३२ सेकेण्डको कीर्तिमान तोडेका हुन्। एपिएफका आशिष चौधरीले निर्धारित दुरी ४९.४० सेकेण्डमा पूरा गर्दै रजत जित्दा आर्मीकै प्रकाश दनुवारले ४९.९० सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् ।

यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामाले उनले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् । चार सय मिटर पुरुष दौडमा सन् १९९० को बेइजिङ एसियन गेम्समा आशाराम चौधरीले ४८.३२ सेकेण्डको इलेक्ट्रिक टाइमिङ कीर्तिमान बनाएका थिए । आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । ८ सय मिटरको राष्ट्रिय कीर्तिमान सोमकै नाममा छ । उनले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा ८ सय मिटरमा १ मिनेट ५०ः२५ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जितेको यो ६८औं स्वर्ण पदक हो ।

मङ्गलबार १ कात्तिक २०७९ १०:१८ AM मा प्रकाशित

प्रतिक्रिया