काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा-हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टा सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेकोछ ।
प्रतिक्रिया