×

गणतन्त्रलाई संस्थागत गर्न सबै दलले निर्वाचनमा भाग लिनुपर्छ : मन्त्री खाण

images

गृहमन्त्री बालकृष्ण खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । 

आज साँझ गृह मन्त्रालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मासँगको भेटपछि गृहमन्त्री खाणले आवधिक निर्वाचनमा सहभागी हुँदै आएका र हालसम्म निर्वाचनमा सहभागी नभएका सबै राजनीतिक दललाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो । 

 गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनले नेपाली जनताको शक्तिलाई सशक्तिकरण गर्ने उल्लेख गर्दै भन्नुभयो, “स्थानीय सरकार, पालिकाहरूसँग आमनागरिकलाई जोड्ने स्थानीय निर्वाचनले नै हो । नागरिकसँग जोडिन र स्थानीयस्तरको विकास निर्माणको हिस्सेदार हुन निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरूलाई भाग लिन नेपाल सरकार आह्वान गर्दछ ।’’ जनप्रतिनिधिले बनाएको संविधान आएपछि पहिलो निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले स्थानीयस्तरको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले अब निर्धारित निर्वाचनबाट आउने जनप्रतिनिधिले विकास निर्माणमा अझ विस्तृत र व्यापक भूमिका निर्वाह गर्नुहुनेछ, भन्नुभयो । 

अहिलेसम्म सहभागी नभएका नेकपा र जनमत पार्टीलाई निर्वाचनमा सहभागी गराउन पटकपटक वार्ता भइरहेको उहाँले बताउनुभयो । “दुवै राजनीतिक दल स्थानीय तह निर्वाचनमा सहभागी हुन सकारात्मक छन्”, उहाँले भन्नुभयो । नेता विश्वकर्मासँगको भेटवार्तामा नेकपाको निर्वाचनमा सहभागिताबारे कुराकानी भएको र वार्ता सकारात्मक भएको तथा निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएको मन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा नेता विश्वकर्माले थुनामा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राख्नुभएको थियो । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कानुन अनुरुप मिल्ने चन्द नेतृत्वको नेकपाका थुनामा रहेका नेता कार्यकर्ता रिहाइ गर्ने र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको जानकारी दिनुभयो ।

सोमबार ५ बैशाख २०७९ ११:५८ PM मा प्रकाशित

प्रतिक्रिया