×

बीस गोही राप्तीमा छाडियो

images

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायतले सबैको साथ र सहयोगकै कारण संरक्षण सम्भव भएको जनाउँदै आगामी दिनमा निकुञ्ज र जनताको बीचको सम्बन्ध अरु बढी प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

    कार्यक्रममा निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गण, सेनाको शिक्षालय, मध्यवर्ती उपभोक्ता सामुदायिक वनलगायतको प्रतिनिधिको सहभागिता रहेको थियो । यस वर्ष वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले मङ्सिर १९ गते राप्ती नदीमा १२ गोही छाडेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।  

    निकुञ्जले यस आर्थिक वर्षमा १०० गोही छोड्ने लक्ष्य लिएको थियो । सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार आज छाडिएकोसहित हालसम्म विभिन्न नदीमा एक हजार ६९२ गोही छाडिएको छ । यस वर्ष राप्ती नदीमा ६७, नारायणीमा २० र कोशीमा २० गोही छाडिएको छ ।
 

 

शुक्रबार​ ६ फागुन २०७८ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया