×

एमसिसी देशलाई किचलोमा हाल्न ल्याइएको हो, सरकार टाढै बस्नुपर्छ : झाँक्री

images

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले यस्ताे बताएकी हुन् ।

उनले एमसिसीजस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन् ।  

एमसिसीजस्ता देशका लागि किचलो बनाउने विषयहरूबाट सरकार टाढा रहनु उचित हुने मन्त्री झाँक्रीकाे भनाइ छ ।

उनले भनिन्, ‘नेपालमा पछिल्लो गठबन्धन एउटा बाध्यताको उपज हाे । हामीले एउटा लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक प्रणाली स्थापित गर्‍याैँ । त्यसको रक्षाका लागि चाहेर वा नचाहेर बनेको गठबन्धन हो । अरू यस्ता एमसिसी लगायतका इस्यूहरू थिए, ती पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणाभन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन । यी विषयहरू नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरू हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।’

त्यस्तै, सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक काेइरालाले एमसिसी नेपालले पारित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसिसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उहाँले आफ्नो निर्णयहरू बारम्बार भनिरहेको काेइरालाकाे भनाइ छ ।

सांसद कोइरालाले एमसिसीमा अमेरिकाको कुनै स्वार्थ नरहेको समेत दाबी गरे ।

 

शुक्रबार​ ६ फागुन २०७८ ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया