×

दिवस र बन्धुलाई अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार प्रदान

images

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उमा रेग्मीले वरिष्ठ स्रष्टाहरु तुलसी दिवस र डा चूडामणि बन्धुलाई यस वर्षको ‘कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’ प्रदान गर्नुभएको छ । पुरस्कारको राशि जनही रु एक लाख एक हजार रहेको छ ।

    कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई नेपाली लोकसंस्कृति र लोकवार्ताका माध्यमबाट अतुलनीय योगदान दिएकामा सम्मानित गरिएको हो । मन्त्री रेग्मीले स्रष्टाको योगदानप्रति राष्ट्र ऋणि भएकाले स्रष्टा जीवितै छँदा सम्मान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताउनुभयखे । उहाँले मुलुकको वर्तमान राजनीतिक स्थिति सहज नभए पनि असहमतिका बीच सहमति खोज्ने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा रहनुभएको बताउनुभयो । “सकेसम्म चढेको डुङ्गा नडुबोस्, यसका लागि सम्बन्धित सबै जिम्मेवार हुनुपर्छ । के ठीक के बेठीक भन्ने कुरा राष्ट्रलाई सर्वोपरि ठानेर निर्णयमा पुग्नुपर्छ ।”, मन्त्री रेग्मी भन्नुभयो ।

    कार्यक्रममा कालीभक्त पन्तकृत ‘हाम्रो सांस्कृतिक इतिहास’ को विमोचन पनि गरिएको थियो । विसं १९६४ भदौ ६ गते पर्वतको लिमीठानामा जन्मनुभएका लोकसंस्कृतिकर्मी पन्तको २०४८ साल फागुन ६ गते निधन भएको थियो । पन्तले राणा र पञ्चायत शासनको विरोधी आन्दोलनमा समेत भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका इतिहास, संस्कृति, नाटक र लोकसाहित्य विधामा करिब एक दर्जन कृति प्रकाशित छन् । कालीभक्तका छोरा गोविन्दप्रसाद पन्त र बुहारी उर्मिलादेवी पन्तले सो पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको थियो ।

शुक्रबार​ ६ फागुन २०७८ ०१:५४ PM मा प्रकाशित

प्रतिक्रिया