×

‘नेभिगेसन इक्विपमेन्ट’ जडान भएका विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान

images

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा बिहीबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाईको टोली नेपाल आइसकेको छ ।

कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने उक्त नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडित जहाजसहितको टोली बुधबार भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । उक्त टोलीमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिक छन् ।

भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार एरोथाईको टोलीले बिहीबार गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ ।

प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्दा देशभरका अन्य विमानस्थलमा पनि यान्त्रिक परीक्षण उडान हुन लागेको उनले बताए । उनले भने, “एरोथाईको टोलीले बुधबार भैरहवामा यान्त्रिक उडान गरेर एयर ट्राफिक कन्ट्रोलर, टावर, धावन मार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिनेछ ।”बिहीबार भैरहवामा परीक्षण उडान गरेर उक्त टोलीले शुक्रबार नेपालगञ्ज विमानस्थलमा परीक्षण उडान गर्ने तयारी रहेको उनले बताए ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यस पटक पूर्वको भद्रपुर विमानस्थलदेखि पश्चिमको धनगढी विमानस्थलमा यान्त्रिक उडान हुन लागेको हो । गत आइतबार नै काठमाडौँ आइपुगेको एरोथाईको प्राविधिक उपकरण जडित जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारलगायतका क्षेत्रको यान्त्रिक परीक्षण गरेर भैरहवातर्फ लागेको उनले बताए ।

यस पटक काठमाडौँ, पोखरा, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको उहाँको भनाइ छ । उहाँका अनुसार मङ्सिर ५ देखि ११ गतेसम्म पोखरामा यान्त्रिक परीक्षण उडान गरिने भएको छ । यस उडानका क्रममा एयर ट्राफिक कन्ट्रोलर टावर, धावन मार्ग र विमानस्थलमा जडान सबै उपकरणले काम गरे नगरेको जाँचिनेछ ।

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुस १७ गतेदेखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । सञ्चार र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि जहाज उडान तथा अवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ । यान्त्रिक उडान सम्पन्न भएपछि एरोथाईले बुझाउने प्रतिवेदनका आधारमा परीक्षण उडान हुनेछ ।

परीक्षण उडानसमेत सफल भएको प्रतिवेदन आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडानका लागि खुला हुनेछ ।

बिहीबार १ मंसिर २०७९ ०७:०५ AM मा प्रकाशित

प्रतिक्रिया