×

रुस भ्रमण उपलब्धिमूलक भयाे : मन्त्री गहतराज

images

 युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । रुस सरकारको औपचारिक निमन्त्रणामा भ्रमणमा जानुभएका मन्त्री अथक आज शुक्रवार बिहान स्वदेश फर्कनुभएको हो । 

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्णरूपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद कुटनीतिमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

भ्रमणका क्रममा रुसका समकक्षीसँग दुईदेशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको मन्त्री अथकले बताउनुभयो । रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचको विशेष निमन्त्रणामा पहिलो पटक रुसको औपचारिक भ्रमण गर्नुभएका मन्त्री अथक र भासिलिभिचबीच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुवै देशबीच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरूको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोगलगायत विषयमा छलफल भएको थियो । छलफलपछि 'रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना' मा दुई पक्षीय सहमतिसमेत भएको उहाँले जनाउनुभएको छ । 

रुस भ्रमणका क्रममा मन्त्री अथकले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का पदाधिकारीसँग पनि भेटघाट गर्नुभएको थियो । नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरूलाई आग्रह गरेको मन्त्री अथकले बताउनुभयो । 

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गएकाे सोमवार मन्त्री अथक रुस प्रस्थान गर्नुभएकाे थियाे । 

शुक्रबार​ ३ असार २०७९ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया