×

ऐन जारी नहुँदासम्म शिक्षक आन्दोलन नरोकिने

images

काठमाडौं । नेपाल शिक्षक महासंघले ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘ऐन जारी गर्ने सुनिश्चतता खोजेका हौँ । सरकारबाट विश्वासिलो अपेक्षा राखेका थियौं तर भएन,’ उनले भनिन्, ‘आन्दोलनलाई सरकारले जिम्मेवार भएर हेरेको पाइएको छैन ।’ 

सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाएपनि सभामुख देबराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको हो ।

‘सभामुखले त्यस्तो अभिव्यक्ति दिनु भएको छ । यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा आयो,’ पराजुलीले भनिन्, ‘१२ गते वर्षे अधिवेशन बोलाउनु भयो । ६–७ गते नै बोलाउन सकिन्थ्यो । यसले सरकार जिम्मेवार नभएको देखाउँछ ।’

यसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ। नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन। काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ।

१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन बिहीबार पनि जारी राखेका हुन्। बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न बैशाख १२ गतेलाई संसद बैठक आह्वान गरे पनि शिक्षकले आन्दोलनलाई थप चर्काएका हुन्।

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नेसमेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो। शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन्।

बिहीबार ४ बैशाख २०८२ ०७:३८ PM मा प्रकाशित

प्रतिक्रिया