×

स्थानीय जनप्रतिनिधिमा दल बदल्ने लहर, स्वागत गर्न केन्द्रीय नेताहरूलाई रहर

images

काठमाडौं ।  कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप साह हालै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनले पहिला माओवादीमा जाने प्रयास गरेका थिए, काठमाडौं गएर प्रचण्डलाई भेटेपछि तस्विर समेत सार्वजनिक गरेका थिए । तर नगरमा माओवादीको प्रभाव राम्रो रहेको र शाहले माओवादीबाट  मेयरको टिकट पाउने सम्भावना क्षीण भएपछि अहिले नेपाली काँग्रेसमा प्रवेश गरे । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा उपेन्द्र यादवको फोरमबाट टिकट नपाएपछि स्वतन्त्र उठेर जितेका शाह यो बीचमा जसपा, नेकपा तथा एमालेमा आफ्नो स्थान पक्का बनाउन धेरै प्रयास गरेको उनी निकट स्रोत बताउँछ  । अन्य दलहरुसँग कुरा नमिलेपछि अन्नतः आफ्नै काका अभिषेक प्रताप साहको पहलमा पार्टी नेपाली काँग्रेसमा आएका हुन् । उनले आफूसँग केही वडाध्यक्षहरुलाई समेत नेपाली काँग्रेसमा ल्याएका छन् । शाहलाई काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, महामन्त्री सुरेन्द्रराज आचार्यलगायतका नेताहरु उनकै घरमा भव्य कार्यक्रम गरी पार्टीमा स्वागत गरेका थिए ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा  लुम्बिनी प्रदेशमा जनप्रतिनिधिहरुले  दल बदल्ने क्रमले तीव्रता पाएको छ । चुनाव जित्ने स्वार्थमा दल फर्दै गर्ने जनप्रतिनिधिहरुमा रुपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लाका  धेरै  छन् । खास गरी बिचको धारमा रहेका स्थानीय जनप्रतिनिधिलाई आफ्नो पार्टीमा ल्याउने ठूला दलहरुबीच पनि प्रतिस्पर्धा नै चलेको छ ।

यसै क्रममा जसपा, कपिलवस्तुका नेता मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । गुप्ताको टोलीलाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी ओली स्वयं कपिलवस्तु आएका थिए । गुप्ता कपिलवस्तु–३ बाट २०७४ को प्रतिनिधिसभाको चुनावमा दोस्रो स्थानमा थिए । काँग्रेसका अभिषेकप्रताप साहले २० हजार मत प्राप्त गरेर जित्दा उनले करीव १६ हजार मत प्राप्त गरेका थिए । लामो समय कपिलवस्तुमा राजनीति गरेका मंगलप्रसाद गुप्ता काँग्रेस, तमलोपा, फोरमबाट चुनावी प्रतिस्पर्धा गरिसकेका छन्  । २०४८ र २०५६ मा काँग्रेसबाट उम्मेदवार भएका उनी २०७० मा तमलोपा र २०७४ मा फोरमबाट लडेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गर्दै कपिलबस्तुमा एमालेको जनलहर आउने दावी गरेका थिए ।

स्थानीय नेताहरु आफ्नो स्थान सुरक्षित बनाउन कुन दल रोज्ने भन्ने हिसाब मिलान गर्दैछन् । केही दिन अघि माओवादीमा प्रवेश गरेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु (जितेन्द्रनाथ) शुक्ला गत निर्वाचनमा फोरमबाट जितेका थिए । निर्वाचन लगत्तै एमालेमा प्रवेश गरेका उनी धेरै लामो समय टिक्न सकेनन् । अहिले स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीमा प्रवेश किन ? भन्ने प्रश्नमा उनले भने, ‘अरु ठूला दलले भाउ दिएनन् । के गर्नु, निर्वाचन जित्न कुनै ठूलो दल चाहिने रहेछ । अनि  माओवादीमा आएँ ।’  

रुपन्देहीको ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमति कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव  नेकपा एमालेमा प्रवेश गरेका छन्  । सनोज रूपन्देही–४ बाट काँग्रेसको तर्फबाट निर्वाचित प्रमोदकुमार यादवका सहोदर भाइ हुन् । उनीहरूलाई एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् । केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए भने यादव तत्कालीन मधेसी जनअधिकार फोरम  हाल जसपाबाट निर्वाचित अध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा रुपन्देहीका १६ पालिकामध्ये ओमसतियामा मात्र माओवादीले जितेको थियो । ती दुवै जनप्रतिनिधि अहिले एमाले प्रवेश गरेका छन् । 

दल बदल्ने क्रम लुम्बिनी प्रदेशको तराई क्षेत्रमा मात्रै होइन, पहाडी जिल्लामा पनि छ । अर्घाखाँचीको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएकी थिइन् । एमाले विभाजन भएर नेकपा एकीकृत बनेपछि सोही पार्टी रोजेकी गौतम हालै नेपाली काँग्रेसमा प्रवेश गरिन् । गएको निर्वाचनमा पालिका अध्यक्षसहित धेरै वडामा काँग्रेसले जित निकालेका कारण अब काँग्रेसमा नगए जित्न नसकिने ठानेपछि उपाध्यक्षको कार्यकाल सकिन केही सयम बाँकी छँदै नेपाली काँग्रेसमा प्रवेश गरेकी हुन् । उनलाई काँग्रेसमा स्वागत गर्न काँग्रेस महामन्त्री गगन थापा हेलिकप्टर लिएर अर्घाखाँची  पुगेका थिए । उनलाई काँग्रेसमा राम्रै स्थानको पक्का भएको अर्घाखाँची काँग्रेस नेता विष्णु खत्रीले बताए ।

केन्द्रका नेताहरु स्वागत गर्न जिल्ला जिल्लामा 

प्रायः सामान्य कार्यक्रममा बाहिर नआउने एमाले अध्यक्ष केपी शर्मा ओली कपिलवस्तुको बहादुरगञ्जमा जसपाका नेता मंगलप्रसाद गुप्ता पार्टी प्रवेश गराउन स्वयम् आएका थिए । यस्तै अर्घाखाँचीको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई स्वागत गर्न काँग्रेस महामन्त्री गगन थापा हेलिकप्टर लिएर आएका थिए । रुपन्देहीमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष बनेका रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट राहुल र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादवलाई स्वागत गर्न एमाले उपाध्यक्ष विष्णु पौडेल आफ्नो व्यस्तताबीच पनि मर्चवार आएका थिए । 

निर्वाचन आउँदै गर्दा केन्द्रका नेताहरु स्थानीय जनप्रतिनिधिलाई स्वागत गर्न हतार गर्ने र जनप्रतिनिधिहरु प्नि दल बदल्न आतुर रहने नेपाली राजनीतिमा पुरानै रोग रहेको लेखक मनिकर कार्कीको बुझाई  छ । उनी भन्छन्, ‘दलहरुले आफ्नो स्वार्थमा अरु पार्टीका जनप्रतिनिधिलाई ल्याउने तथा जनप्रतिनिधिहरु पनि कुन दलमा प्रवेश गर्दा आफ्नो जित्ने आधार बलियो बन्छ भन्ने एकिन गरेर मात्र दल बदल्ने काम अहिले भइरहेको छ ।’ मुद्धा भन्दा पनि आफ्नो स्वार्थमा दलबदल हुने भएकाले मतदाताले विचार पुर्याउनु पर्ने बेला आएको उनको जिकिर छ । 

जसरी पनि निर्वाचनमा जित निकाल्ने राजनीतिले पछि अनुचित काम गरेर निर्वाचनको खर्च निकाल्न बाध्य बन्ने र राजनीति गलत बाटोमा लाग्ने पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष महेन्द्र पाण्डेयको भनाइ छ । 

 

 

बिहीबार ५ फागुन २०७८ ०३:५० PM मा प्रकाशित

प्रतिक्रिया