×

हामी बालुवाटारमा एउटा, बालकोट र खुमलटारमा अर्को बोली बोल्दैनौँ : थापा

images

काठमाडौँ  । नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे कम्युनिस्ट दलहरूले बोली फेरेको भन्दै कांग्रेसले आफ्नो बोली नफेर्ने बताएका छन् । उनले एमसीसी पास गर्ने वर्षौंअघिको निर्णयमा  कांग्रेस अडिग रहेको बताए ।

बिहीबार बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘एमसीसीबारे कसले के बोल्यो, त्यसमा हाम्रो ध्यान छैन । कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन मिल्दैन, हुँदैन । कांग्रेसले क्षणिक लाभको लागि बोली फेर्न जान्दैन ।’

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गर्दै अघि भने, ‘हामी बालुवाटारमा हुँदा एउटा बोली, अनि बालकोट र खुमलटार पुगेपछि अर्को बोली बोल्दैनौँ, बोल्न जान्दैनौँ ।’

नेता थापाले सरकार चलाउँदा राजनीतिक दलले गर्ने काम, प्राथमिकताहरू, नीति कार्यक्रम र योजनाहरूबाट त्यो दल कस्तो हो भन्ने थाहा हुने भन्दै त्यसको मूल्यांकन गरेर धारणा बनाउन आग्रह गरे । नेता थापाले केसीको पुस्तकबाट कांग्रेसलाई नजिकबाट बुझ्न मद्दत पुग्ने बताए ।

 

बिहीबार ५ फागुन २०७८ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया