काठमाडौँ। प्रधानमन्त्री बालेन शाह र नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा रसुवामा आएको बाढी र भर्खरैका प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति कार्यवाहक राजदूत बोल्डिनले गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा अमेरिकी सरकार सहयोग र सहकार्य गर्न पूर्ण रूपमा तत्पर रहेको प्रतिबद्धता जनाउनुभयो।
सो अवसरमा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले विपद्का कारण नेपाली नागरिकका साथै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रतिकूल असरका कारण यस्ता घटनाको सामना गर्नुपरेको बताउनुभयो। उहाँले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण र प्रभाव सम्बोधनका लागि विश्वव्यापी सहकार्य एवं सामूहिक प्रयासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
यसैगरी, भेटमा नेपालको पर्यटन क्षेत्रको विकास तथा सम्भावनाबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले वैदेशिक लगानी, विशेष गरी अमेरिकी लगानीलाई नेपालले सधैं स्वागत गर्ने स्पष्ट पार्नुभयो।
प्रतिक्रिया