×

साउन महिनामा निर्यातमा वृद्धि, व्यापार घाटा २.५ प्रतिशतले बढ्यो

images

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२- ८३ को पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ ।

साउन महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले साउन महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड पुगेको जानकरी दिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो । 

गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना, चियालगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८२- ८३ को पहिलोमहिनामा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई १४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल-धान, कोइला, रासायनिक मललगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायतका वस्तुको आयात घटेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८२- ८३ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भई ११९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ९८ करोड बराबरको भएको थियो ।

 

मङ्गलबार ३१ भदौ २०८२ ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया