×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- कुलिङ पिरियडमा भएको हेरफेरको छानबिन गर्न बनेको संसदीय समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ । सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा जारी बैठकमा सभापति खतिवडासँग समितिले बयान लिएको हो । खतिवडा नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयकमा अवकास भएका कर्मचारीले संवैधानिक नियुक्ति पाउन २ वर्ष अवधि पर्खनुपर्ने (कुलिङ पिरियड) को व्यवस्था गरेकोमा प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा हेरफेर भएको पाइएको थियो ।

२-  नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो । 

३- सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साह एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार आफ्नै कार्यकक्षबाट पक्राउ गरेको हो । अख्तियारले मेयर साहले नगरपालिकाको २० लाख बजेटमा निर्माण सम्पन्न भएको एक नालाको भुक्तानीका लागि उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेको बताएको छ ।

४- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । बस्नेतले भनेका छन्- 'जनता समाजवादी पार्टी ( जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।'

५- नेकपा एमालेका नेता राजन भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै भट्टराईले रास्वपाले सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानले लोकतन्त्रका आधारभूत मुल्य र मान्यतामाथि प्रश्न उठाएको बताएका हुन् । उनले लोकतन्त्रमाथिको चुनौती कहिलेकाहीँ लोकतन्त्रका पक्षपातीबाटै आउने गरेको उल्लेख गर्दै सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नु लोकतन्त्रकै मर्ममाथिको प्रहार भएको बताएका छन् ।

६- लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव ५ मात्रै भएको बैठकलाई अवगत गराइयो ।

७- मधेश प्रदेशमा खानेपानी संकट गम्भीर बनेको छ । लगातारको सुक्खा र भूमिगत जलस्रोत सुक्दै जाँदा उत्पन्न संकटपछि प्रदेशका विभिन्न जिल्लामा खानेपानीको व्यापक संकट उत्पन्न भएको हो । प्रदेश सरकारले खानेपानीको संकट टार्न वारुणयन्त्र र ट्याङ्कर परिचालन शुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र बुधवार बिहानदेखि संकटग्रस्त क्षेत्रमा खटाइएको छ । एक वारुणयन्त्रमा ५ हजार लिटर क्षमताको पानी अट्ने हुँदा एकपटकमा ४० हजार लिटर पानी वितरण गरिने बताइएको छ ।

८- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । विहिबार दिउँसो १ बजै पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि सचिवालय बैठक बोलाएको हो ।  बैठकमा साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी बारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिएका छन् । एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विद्यान महाधिवेशन गर्दैछ । विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमाले भित्र तिब्र बहस शुरु भएको छ ।

९- नेकपा एमालेका सांसद सुर्य थापाले घुस प्रकरणको अडियोमा बोलेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन् । सांसद थापाले सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरी सत्य बाहिर ल्याउनु पर्ने बताएका हुन् । उनले मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गंभीरतालाई मध्यनजर गरी गंभीर छानवीन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको उल्लेख गर्दै विषयको उठान आरोप-प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस गर्नका लागि नभएर सुशासनको प्रत्याभूति गर्नका लागि भएको बताएका छन् । 

१०-  नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको सहकार्य गर्दै अमेरिकाले नेपाली नागरिकलाई नेपालमै बस्नसक्ने वातावरण बनाउन प्रयत्नशील रहेको बताएको छ । बुधबार दूतावासले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै नेपाली नागरिक आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील रहेको उल्लेख गरेको हो । दुताबासले भनेको छ- ‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ ।'

११- नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर १४ अर्ब ३४ करोड ८३ लाख ९ हजार ८८० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

१२- हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गरेको छ  । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि आज बुधबारदेखि एफपीओ जारी गरेको हो । बैंकले एक अर्ब ४५ करोड २३ लाख बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको छ । 

१३- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १३ सयले घटेर तोलाको एक लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको २२६० रुपैयाँमा कारोबार भइरहेको छ ।

१४- इङल्याण्डको विश्व टेस्ट च्याम्पियनसिपमा २ अंक घटेको छ । लर्ड्समा भारतविरुद्धको तेस्रो टेस्ट खेलमा स्लो ओभर रेटका कारण दुई अंक कटौती भएसँगै अब विश्व टेस्ट च्याम्पियनसिपमा तेस्रो स्थानमा झरेको छ । बेन स्टोक्सको नेतृत्वमा रहेको इङल्याण्डलाई स्लो ओभर रेटका कारण म्याच शुल्कको १० प्रतिशत जरिवाना पनि लगाइएको छ । यो खेलमा इङल्याण्डले भारतलाई २२ रनले पराजित गरेको थियो । यो कारवाहीपछि इङल्याण्ड स्कोर २४ बाट घटेर २२ मा झरेको छ भने अंक प्रतिशत ६६.६७ प्रतिशतबाट घटेर ६१.११ प्रतिशतमा झरेको छ । 

१५- २०२८ मा हुने लस एन्जलस ओलम्पिकमा हुने क्रिकेट खेल हुने मिति सार्बजनिक गरिएको छ । क्रिकेटका खेलहरू जुलाई १२ देखि हुने भएका छन् । जबकि पदक खेलहरू जुलाई २० र २९ मा खेलिनेछन् । टी-२० फर्म्याटमा खेलिने खेल पोमोना शहरको फेयर ग्राउन्ड्स स्टेडियममा खेलिनेछन् । लस एन्जलसबाट लगभग ५० किलोमिटर टाढा यस ठाउँमा अस्थायी रंगशाला निर्माण गरिने बताइएको छ । प्रतियोगितामा प्रायः डबल हेडरहरू हुनेछन् अर्थात् दिनमा दुई खेलहरू हुने छन् । जुलाई १४ र २१ मा कुनै खेल हुनेछैन । यस प्रतियोगितामा ६-६ महिला र पुरुष टोलीले भाग लिनेछन् । यसमा कुल १८० खेलाडीहरूले भाग लिनेछन् । प्रत्येक टोलीमा १५ खेलाडीहरू छनोट गरिनेछ । यस ओलम्पिकमा सहभागी हुने देश कसरी छनौट हुन्छन् भन्ने स्पष्ट भएको छैन तर आयोजक अमेरिकाले खेल्ने निश्चित छ । यसको अर्थ अमेरिका बाहेक, पाँच थप टोलीहरू भाग लिन पाउने छन् र तिनीहरूले छनोट खेल खेल्नुपर्ने बताइएको छ ।

१६- इङल्याण्ड भ्रमणमा रहेको भारतीय पुरुष र महिला राष्ट्रिय क्रिकेट टिमले राजा चार्ल्स तृतीयसँग भेट गरेको छ । मंगलबार लन्डनको सेन्ट जेम्स प्यालेसमा भएको भेटमा ७६ वर्षीय राजा चार्ल्सले भारतको लर्ड्स टेस्टको बारेमा कुरा गरेका थिए । उनले भारतीय कप्तान शुभमन गिललाई अन्तिम ब्याट्सम्यानको आउटको बारेमा प्रश्न गरेका थिए । जवाफमा गिलले भने- 'हाम्रो अन्तिम ब्याट्सम्यान आउट हुने तरिका एकदमै दुर्भाग्यपूर्ण थियो, बल घुमेर विकेटमा लाग्यो । आशा छ, हामीलाई अर्को दुई खेलमा भाग्यको साथ मिल्ने छ।'

१७- भारतको प्रसिद्ध कन्हैया लाल हत्या प्रकरणमा आधारित फिल्म 'उदयपुर फाइल्स: कन्हैया लाल दर्जी मर्डर' को रिलिजमा लगाइएको प्रतिबन्धलाई अदालतले कायम राखेको छ । दिल्ली उच्च अदालतले हालै फिल्मको रिलिजमा प्रतिबन्ध लगाएको थियो । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ जुलाई २१ सम्मका लागि स्थगित गरेको छ । अदालतले निर्माताहरूलाई फिल्म विरुद्धको आपत्ति सुन्न केन्द्रले नियुक्त गरेको समितिको निर्णय नआउन्जेल पर्खन भनेको छ ।

१८- बलिवुड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन् । कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी छन् । कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले बुधबार यसको आधिकारिक घोषणा गरेका छन् । एक पोस्टमा, दुवैले भनेका छन्- 'हाम्रो मन भरिएको छ र हाम्रो संसार सधैंको लागि परिवर्तन भएको छ । हामीलाई छोरीको आशीर्वाद मिलेको छ।'

१९- बलिवुडका फिल्म निर्देशक प्रियदर्शन यतिबेला फिल्म 'हेरा फेरी ३' को बारेमा चर्चामा छन् । प्रियदर्शन यस लोकप्रिय फ्रान्चाइजीको तेस्रो फिल्म निर्देशन गर्दैछन् । उनी 'हैवान' फिल्म पनि बनाउँदैछन्, जसमा अक्षय कुमार मुख्य भूमिकामा छन् । यस बाहेक, प्रियदर्शनले अब अर्को फिल्मको घोषणा गरेका छन् । उनी अक्षय कुमारसँग यो फिल्म बनाउँदैछन् र फिल्ममा सैफ अली खान पनि देखिनेछन् । 

२०- अमेरिकी राष्ट्रपति डोनाल्दो ट्रम्पले दिएको चेतावनीको रुसले जवाफ दिएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको ५० दिनको समय सीमा बारे प्रतिक्रिया दिदै आफुहरुले ट्रम्पले भन्न खोजेको कुरा बुझ्ने प्रयास गरिरहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार, विदेशमन्त्री लाभरोभले रुसले ट्रम्पले ५० दिनको समय दिँदै के भन्न खोजेको हो भनेर जान्न चाहेको बताएका हुन् । लाभरोभले रूसले पहिले नै 'अभूतपूर्व प्रतिबन्धहरू' को सामना गरिरहेको बताउदै कुनै पनि नयाँ प्रतिबन्धहरूको सामना गर्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार १ साउन २०८२ ०८:०६ PM मा प्रकाशित

प्रतिक्रिया