×

लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी

images


कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध मुद्दामा १४ भारतीय नागरिकसहित दुई सय ८२ जना पक्राउ परेको जानकारी दिनुभयो ।

त्यसैगरी गत आर्थिक वर्षमा लागुऔषधका एक सय ४३ मुद्दा दर्ता भएकामा दुई सय ३९ जना पक्राउ परेका थिए । प्रहरी उपरीक्षक थापाले भन्नुभयो–“यहाँ हरेक दिन लागुऔषध सेवनकर्ता पक्राउ पर्ने गर्छन् ।” खुल्ला सिमानाका कारण भारतबाट विभिन्न लागुऔषध लुकिछिपी ल्याउने गरेको पाइएको छ ।

चालु आर्थिक वर्षमा कञ्चनपुर प्रहरीले २६ किलोग्राम भन्दा बढी चरेश, ५४७.७९ ग्राम खैरोहिरोइन, ३६ ट्याबलेट नाइट्राभेटलगायत लागुऔषध बरामद गरेको छ । त्यसैगरी चालु आर्थिक वर्षमा प्रहरीले विभिन्न बेवारिसे सामान बरामद गरी रु दुई करोड २१ लाख ३४ हजार बराबरको सामग्री भन्सार चलान गरेको छ । गत वर्ष यहाँ रु एक करोड १७ लाख ५४ हजारको बेवारिसे सामग्री भन्सार पठाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै चालु आर्थिक वर्षमा यहाँ ७२ फरार अभियुक्त पक्राउ परेका छन् । वर्षभरिमा कूल नौ सय ७५ मुद्दा दर्ता भएकामा छ सय ६७ मुद्दा फछर्यौट गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा नियमविपरीत औषधि पसल सञ्चालन गर्दै आएका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यसअघि कञ्चनपुर प्रहरीले यहाँका विभिन्न क्षेत्रबाट ११ भारतीय नागरिकलाई अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ ।

आइतबार​ ३१ असार २०८० ०५:०५ PM मा प्रकाशित

प्रतिक्रिया