×

शिक्षकहरुको मागप्रति सरकार संवेदनशील छ- मन्त्री पृथ्वीसुब्बा गुरुङ

images

काठमाडौं । सञ्चार सुचना एवं प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गरेका छन्। मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुरुङले उक्त आग्रह गरेका हुन्।

‘पहिला सरकारले के–के सम्झौता गर्‍यो त्यो पनि आफ्नो ठाउँमा छदै छ। सरकार निरन्तर चलिरहने संस्था हो नि। सरकारको नेतृत्वमा को बस्छ भन्ने कुरा स्थायी कुरा होइन। सरकार सबै समस्या समाधान गर्नकै लागि बनेको हो। शिक्षकहरूको समस्या समाधान नगर्ने भन्ने कुरै हुँदैन। शिक्षकहरुको मागप्रति सरकार संवेदनशील छ,’ उनले भने।

अहिले देशको अर्थतन्त्र अफ्ठेरो अवस्थामा रहेको बताउँदै उनले सबै अवस्थालाई हेर्दा कर्मचारीको तलबभत्ता कति बढाउन सकिन्छ भन्नेमा सरकार गम्भीर रहेको उनले बताए। ‘शिक्षकहरुको मात्रै बढाएर हुँदैन होला नि। उहाँहरुले आफूलाई मात्रै हेर्नुभएको छ। सरकारले त सबैलाई हेनुपर्यो नि। समय क्रममा तलबभत्ताहरु पनि बढ्छ, उहाँहरुले उठाएको माग पनि पूरा हुन्छ। विद्यालय शिक्षा ऐन पास गर्नुपर्ने कुरामा हामी मिलाउँछौं,’ उनले भने।

सडक तताएर, हड्ताल गरेर मात्रै नहुने भन्दै शिक्षकहरुले पनि सरकारको कुरालाई सुन्नुपर्ने बताए।

उनले भने, ‘यो अहिले आन्दोलनको बेला होइन, हुँदाहुँदा अब निजामतीहरुको पनि आन्दोलन, शिक्षकले आन्दोलन गरिसक्यो, हामी आन्दोलन गर्छौं भनेको छ, अर्कोले भन्ला भोलि, निजामति नै आन्दोलनमा गयो भने के होला ? शासन, प्रशासन चल्छ ? सबै आन्दोलनमा गएपछि सरकार कसरी चल्छ ? हामीले राजतन्त्र ल्याउन खोजेको हो त ? सरकारलाई अप्ठ्यारो पारेर ? सबै ठप्प पारेर, विद्यालयहरु सबै बन्द छन्। सबै कुराहरुलाई बुझेर शिक्षकहरु विद्यालय फर्किनुपर्छ। अहिले विद्यार्थी भर्ना गर्नुपर्ने कुरा छ।’

बुधबार ३ बैशाख २०८२ ०९:०४ PM मा प्रकाशित

प्रतिक्रिया