काठमाडौं । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली प्रति कांग्रेसका महामन्त्री गगन थापालगायत आक्रामक रूपमा उत्रन थाले पछि संयन्त्रको बैठक बोलाइएको हो ।
दुइ दल बिच असमझदारी देखिन थाले पछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ । हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बिच भेटबार्ता भए पछि उक्त संयन्त्रको बैठक बोलाउने निर्णय भएको हो ।
पछिल्लो समय कांग्रेस–एमाले सत्ता–सहकार्यमा समस्या देखिएको चर्चा छ । यसैबीच हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक घण्टा लामो छलफल गरेका छन् । दुई नेताबीच सरकार सञ्चालनमा देखिएका मतभेद हल गरेर जाने विषयमा छलफल भएको बताईन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको आयु लामो नभएको र छिट्टै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेपछि एमाले नेतृत्व पँक्ति सशंकित बनेको छ । हिजोमात्रै कांग्रेस महामन्त्री थापाले पनि सरकारको गतिलाई लिएर प्रश्न उठाएका थिए । उनले सरकारको प्रस्तुतिलाई लिएर रामराम भन्न सकिने भन्दै एक कदम अघि बढेर आलोचना गरेका थिए । उनले अहिले विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म पुगेको पनि दाबी गरेका थिए ।
प्रतिक्रिया