×

मधेशका मुख्यमन्त्रीले पुस ४ गते विश्वासको मत लिने, विश्वासको मत लिनुअघि सभामुख चयन र मन्त्रीमण्डल विस्तार हुने

images

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने भएका छन् । मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका उनले आगामी शुक्रबार विश्वासको मत लिने निर्णय गरेका हुन् ।

विश्वासको मत लिन ढिलाइ भएका कारण उनले मन्त्रिपरिषद् विस्तारसमेत गर्न सकेका छैनन् । कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता यादव मङ्सिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले मङ्सिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुअघि नै नयाँ सभामुखको चयन र मन्त्रीमण्डल विस्तार गर्न सात दलबीच सहमति भएको छ ।

सहमतिअनुसार सोमबार नै मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा मुख्यमन्त्री यादव लागेका छन् । यस्तै, सभामुख चयनका लागि पुस २ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री यादवले भने पुस ४ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेछन् ।

माओवादी केन्द्रका सांसद युवराज भट्टराईले सोमबार नै मन्त्रीमण्डल विस्तारको सम्भावना बढी रहेको बताए । उनले बिहान बसेको सात दलको बैठकको प्रमुख एजेन्डा विश्वासको मत लिने रहे पनि त्योसँगै मन्त्रीमण्डल विस्तार र सभामुखको चयनका विषयमा समेत छलफल भएको बताए । ‘मन्त्रीको नाम टुंगो लगाउन दलहरु आन्तरिक परामर्शमा छन् । मन्त्रालयको बाँडफाटको जिम्मा भने मुख्यमन्त्रीलाई दिइएको छ,' उनले भने, 'सबै कुरा टुंगिए आजै मन्त्रीमण्डल विस्तार हुन सक्छ ।'

सभामुखका लागि भने सात दलले जसपा नेपाललाई दिने सहमति गरिसकेको छ । जसपा नेपालबाट प्रमुख सचेतक रामाशिष यादवलाई सभामुख बनाइने तयारी छ । सोमबार नै प्रदेशसभा सचिवालयमा उपसभामुख बबिता राउत ईसरको अध्यक्षतामा बसेको दलको बैठकमा सभामुख चयनको प्रक्रिया अगाडि बढाउने सहमति भएको जसपाल नेपालका प्रमुख सचेतक यादवले जानकारी दिए । 

सोमबार ३० मंसिर २०८२ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया