×

गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृद्धिको थालनी गर्छु - प्रचण्ड

images

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान बाम लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन् । गोरखामा सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए।

‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन’, अध्यक्ष दाहालले भने, ‘संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।’ उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए । ‘पटक–पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो’, उनले भने, ‘अब यसलाई मङ्सिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।’

फरक प्रसङ्गमा अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताए । ‘गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन’, उनले भने, ‘गोरखाको भूगोल, संस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु ।’

उनले आफू गोरखा २ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भए पनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताए । नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको उनको भनाइ थियो । कार्यक्रममा उनले निर्वाचन आयोगले स्पष्टिकरण सोधेको प्रशंग निकाल्दै आफूलाई माइक्रोस्कोपले हेरेर बसेको बताए ।

‘अस्ति कसले बाजा बजायो भने, (हास्दै)… मलाई थाहा पनि छैन बाजा कहाँबाट आयो, कसले ल्यायो, कसले बजायो । निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो । मैले बाजा बजाउने मेरो योजना होइन भनेर लिखित स्पष्टीकरण दिएँ,’ प्रचण्डले भने, ‘अहिले प्रचण्ड कता जान्छ के बोल्छ भनेर माइक्रोस्कोपले हेर्ने गरेका छन् ।’

गोरखा २ मा उम्मेदवारी दर्ता गराउने क्रममा पञ्चेबाजा बजाएको विषयमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेको थियो ।

शनिबार २९ असोज २०७९ ०७:०८ PM मा प्रकाशित

प्रतिक्रिया